
– भोज राज घिमिरे
बिराटनगर ।। प्रदेश १ को राजधानी विराटनगरमा सडकमा हिँडडुल गर्ने र पसल खोलेर निषेधाज्ञा उल्लंघन गर्ने बढ्दै गएपछि मुद्धासहितको कारवाही गरिने भएको ।मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा कमी नआएपछि प्रहरी प्रशासनले थप कडाई गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्धा चलाएर कारवाही गरिने भएको छ ।
नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र रुपमा समुदायमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित आसपासका स्थानीय तहमा जारी गरेको निषेधाज्ञामा कडाईका साथ कार्यान्वयन हुन सकेको छैन ।मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले तीब्रगतिमा संक्रमण फैलिन थालेपछि निषेधाज्ञा जारी गरेपनि उल्लघन भइरहेकाले थप कडाई गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले निषेधाज्ञाको पालना गराउन सबैतिर उचित सुरक्षा सावधानी अपनाएर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले अब अटेरि गर्नेमाथि संक्रामक रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने उनले बताए । उनले अब सम्झाउने काम नहुने बताउँदै अटेरी गर्नेलाई मुद्धा चलाउने तयारी गरिएको जानकारी दिए ।

