वैशाख २७ गते सोमबार बसेको संसदको बैठकले के.पि ओलीको विश्वासको मत प्राप्त गर्ने प्रयासलाई असफल बनाइदिएको छ । योसँगै ओली अल्पमतको प्रधानमन्त्री भएका छन् भने नयाँ प्रधानमन्त्री छानिने या नयाँ प्रधानमन्त्री छानिन नसकेको खण्डमा संसद विघटन हुने बाटो खुलेको छ ।
आज दिउँसो प्रतिनिधि सभाको बैठकमा भएको भोटिङमा ओलीका पक्षमा ९३ मत , विपक्षमा १२४ मत र तटस्थमा १५ मत परेको थियो ।
केपि ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको मत लिने प्रयास गरेका थिए ।यदि यो प्रयास सफल भएको थियो भने ओली स्वत: अर्को २ वर्षका निम्ति प्रधानमन्त्री कायम रहने थिए ।
संसद बैठक लगत्तै केपि ओलीले मन्त्री परिषद्को बैठक बोलाएका छन् । यस बैठकमा ओलीले कुनै कदम चाल्ने छन् या स्वत: प्रधानमन्त्री पद छोडिदिने छन् सो भने हेर्न बाँकी छ ।






