
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरोकारवालाहरुसँग छलफल गरेका छन् । कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन उनले निर्देशन दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज जनस्वास्थ्यविद, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँग सामुहिक छलफल गर्नुहुँदै उहाँले त्यस्तो निर्देशन दिएका हुन् ।
छलफलमा प्रधानमन्त्री ओलीले सरकार तथा निजी क्षेत्र सबैको ध्यान कोभिड नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने बताए। अक्सिजन सिलिण्डर, औषधिजन्य वस्तु, अस्पतालका शैया तथा एम्बुलेन्सको भाडासमेत चर्कोरुपमा असुलिरहेको सूचना आफूकहाँ पुगेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “यस्तो महामारीकाबेला कमाउनेतिर होइन, जनताको जिउज्यानको रक्षामा ध्यान केन्द्रित गर्नुहोस्, कसैले सरकारी मापदण्डभन्दा बढी रकम असुली गरी पीडित जनतालाई थप पीडा दिएको पाइएमा सरकारले कारवाही गर्छ ।”
आज भएको छलफल र विज्ञहरुको परामर्शका आधारमा सरकारले कार्ययोजना बनाई अगाडि बढ्ने र जनताको जिउधनको रक्षामा सरकारले कुनै कसर बाँकी नराखी आफ्नो संयन्त्र परिचालन गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले बैठकमा बताए।