
– इन्द्र प्रसाद ओली (मौलिक जरोकिलो पार्टी, प्रदेश नं १ अध्यक्ष )
आज पनि नेपालको राजनीतिमा त्यस्तै समस्या छ जुन २०४७ सालको संविधान लागु भएपछी देखिएको थियो । पात्र उही, प्रवृति उही । भ्रष्टाचार र अनियमितता डङ्गुर यथावत छ । राजनीतिक स्थायित्व दिने भन्दै निर्माण गरिएको २०७२ सालको संविधानपछि बनेको बहुमत प्राप्त सरकार समेत आपसी गुट, उपगुटले गर्दा नराम्रोसंग पछारिन पुगेको छ ।
कोरोना संक्रमणको महाव्याधीको पहिलो लहरमा गर्नुपर्ने काम नगरेपछि आज हजारौं नेपालीले अनाहकमा ज्यान गुमाउन पुगेका छन् । तर सत्तावृत्तमा रहेका दलहरूको अकर्मन्यता र अदुरदर्शीताको शिकार आज नेपाली जनता बन्न पुगेका छन् । विकास र समृद्धिको कुरै छोडौँ जनताले ज्यान बचाउन समेत धौधौ पर्ने अवस्था आइसकेको छ।
वि. सं. २००७ सालदेखि निरन्तर एक जमात नेता भनौंदाहरू सत्ताको वरिपरि झिंगा भन्के झैं भन्किरहेका छन् । मुलुक तन्नम बनाउन यिनै पात्रहरूको मुख्य भूमिका भए पनि आम सर्वसाधारण र कार्यकर्ता पछि लाग्न छोडेका छैनन् । नेता भनौंदाहरू सुधार्न सकिने सम्भावना छैन । अब सुध्रिने भनेको सर्वसाधारण नै हो । दिग्भ्रमित भएका कार्यकर्ता नै हुन् ।
अब प्रश्न गर्न थाल्नुस् । आफ्नो मत दिएर स्थापित गरेका सर्वसाधारण र कार्यकर्ताले आफ्नो आस्था भएको पार्टीका नेतालाई सोध्न थाल्नुस् । सत्ताधारी, प्रतिपक्षी वा वैकल्पिक भनेर खोलिएका दलका नेतालाई निम्न लिखित प्रश्न सोध्नुस् । यदि चित्तबुझ्दो जवाफ आएन भने अब तटस्थ बस्नुस्। सधैं कुनै न कुनै पार्टीको पछि लाग्नै पर्छ भन्ने छैन । तपाईंको तटस्थता पार्टीका नेताहरूलाई सोंच्न बाध्य बनाउँछ । सुध्रिन बाध्य बनाउँछ ।
प्रश्नहरू :
(१) तपाईंको पार्टीको दर्शन के हो ?
(२) तपाईंको पार्टीको वाद के हो ?
(३) तपाईंको पार्टीको सिद्धान्त के हो ?
(४) तपाईंको पार्टीको सिद्धान्तको जरो ( उत्पत्ति ) कहाँ हो ?
(५) तपाईंको पार्टीको किलो ( निर्णय गर्ने शक्ति ) कहाँ हो ?
(६) समाज विकासको सिद्धान्त के हो ?
(७) तपाईंको पार्टी धर्मसापेक्ष कि धर्मनिरपेक्ष हो ?
(८) राजसंस्थाको बारेमा तपाईंको पार्टीको धारणा के हो ?
(९) तपाईंको पार्टीको सङ्घीयताको सम्बन्धमा कस्तो धारणा छ ?
(१०) तपाईंको पार्टीको मौलिक धर्म संस्कृति, परम्परा ,रितिथिति, चाडपर्वको विषयमा धारण के हो?
(११) तपाईंको पार्टीले नेपालको भौतिक, मानसिक र आध्यात्मिक विकासका लागि प्राथमिकतामा राखेका कुराहरु केके हुन् ?
(१२) तपाईंको पार्टीको शिक्षानीति कस्तो हुने ?
(१३) तपाईंको पार्टीको कृषिनीति कस्तो हुने ?
(१४) उद्योग-धन्दा, पर्यटन, रोजगारी सम्बन्धी धारणा कस्तो छ ?
(१५) सूचनाको हक अधिकार एवम् सञ्चार नीति कस्तो हुने ?
(१६) शासकिय स्वरुप कस्तो हुने ?
(१७) युवा, वयस्क , प्रौढलाई रोजगारी दिन सक्ने योजना र सत्तामा नपुग्दा पनि लागु गर्न सकिने योजना बताउनु होस ? तपाईंको पार्टीको विकासको मौलिक ढाँचा के हो ?
(१८) तपाईंको पार्टीको आदर्श पुरुष वा सिद्धान्तकार को हुन र यो कुन परिवेशमा बनाइएको हो ?
(२०) प्रशासनको ढाँचा कस्तो हुने ?
(२१) व्यवस्थापिका , कार्यपालिका न्यायपालिकाको हाल कमजोरी पक्ष के हो र कसरी चुस्त बनाउनु हुन्छ ?
(२२) तपाईंको पार्टी सञ्चालन गर्न आर्थिक व्यवस्थापन कसरी गर्नु भएको छ /पैसा कहाँवाट आउँछ ? हालसम्म कुनै पनि विदेशी दातृ निकायबाट सहयोग लिएको छ कि छैन ?
(२३) सनातन हिन्दु राष्ट्र ( हिन्दू, बौद्ध, किरात , जैन, बोन , शिख प्रकृति पुजक आदि) पक्ष कि विपक्ष हो ?
(२४) परराष्ट्र नीति कस्तो हुने ?
(२५) नेपालको सिमा भुगोल रक्षाको नीति के छ ?
(२६) एमसिसी को पक्ष कि बिपक्ष धारणा के छ ?
(२७) नागरिक र राष्ट्रिय सुरक्षा सम्बन्धी तपाईंको नीति कस्तो हो ?
(२८) आदिवासी, जनजाति, उत्पीडित, शिल्पीसमुदाय आदिका बारेमा कस्तो योजना छ ?
(२९) स्वास्थ्यनीति, आयुर्वेदिक , होमियोपेथिक , एलोपेथिकमा छुट्टाछुटै नीति के छ ?
(३०) १ वर्ष देखि ५ वर्षका बालबालिकालाई सुरक्षा नीति कस्तो हुने र नेपाललाई बालमैत्री बनाउन कस्तो योजना उपयोगी वा आवश्यक छ ?
(३१) वर्तमान नेपाल लागु-औषध जोखिममा छ । लागु-औषध नियन्त्रण गर्न यहाँको पार्टीको योजना कस्तो छ ? यस विषयमा हाल सम्म कहीँ कतै कुनै कार्यको थालनी गरेको छ वा छैन ?
(३२) नेपालका सांसदहरु गाँजा खेती गर्नुपर्छ भन्दै छ्न् यहाँको पार्टीको नेपालमा गाँजाखेती गर्नु पर्छ वा पर्दैन भन्ने स्पष्ट धारणा के छ ?
(३३) नेपालका कुन कुन क्षेत्र बिग्रिएका छ्न ? के केमा कसरी सुधार गर्ने योजना छ ?
(३५) नेपालको मौलिकता, विशेषता, गौरव, विरासत र नेपालको अस्मिता जोगाउन यहाँको पार्टीले के अनुसन्धान गरेको छ ? नेपालको ५ अस्मिता के के हुन ?
(३६) नागरिकतानीति सम्बन्धी स्पष्ट धारणा के हो ?
(३७) तपाईंको पार्टीको धर्म र विज्ञान सम्बन्धी दृष्टिकोण के छ ?
(३८) तपाईंको पार्टीको नेपाललाई विश्वको केन्द्र बनाउने सम्बन्धमा के के योजनाहरु र दृष्टिकोणहरु छन् ?
(३९) नेपालको राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, सामाजिक पुनर्जागरणका लागि केके योजना छन् ?
(४०) तपाईंको पार्टीको समृद्ध , खुसी र सुखी नेपाल बनाउने योजनाहरु केके छन् ?
शब्दका जालझेल, सिद्धान्त हीन गठबन्धन र सत्ताको निम्ति गरिने तिकडमलाई तोड्ने क्षमता सर्वसाधारण मतदाता र कार्यकर्तामा हुन्छ । तपाईं हामीले प्रश्न नसोधेको कारण आज हामीमाथि शासन गर्ने छाडा साँढे झैं भएका छन् । अब पनि प्रश्न नगर्ने हो भने समय घर्किएर मुलुक नै रसातलमा पुग्ने अवस्था आइसकेको छ ।