
कपिलवस्तु — जिल्लामा कोरोना भाइरस संक्रमणले बुधबार एक महिलासहित ८ जनाको मृत्यु भएकोछ । कपिलवस्तु नगरपालिका-४ का ५३ वर्षीय पुरुष र वडा नम्बर १२ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
शुद्धोदन गाउँपालिका १ का ५० वर्षीय पुरुष र वडा नम्बर २ का ४२ वर्षीय पुरुष, बुद्धभूमि नगरपालिका १ का ७१ वर्षीया महिला र वडा नम्बर १० का ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
कपिलवस्तु नगरपालिकाका एक जनाको होम आइसोलेसनमा र बाँकी ५ जनाको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । त्यस्तै, शिवराज नगरपालिका ५ का ७५ वर्षीया पुरुष र वडा नम्बर ५ का ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । यी दुवैको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा उपचार गर्दागर्दै मृत्यु भएको हो ।
जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४६ पुगेकोछ । यहाँ बुधबार साँझसम्म सक्रिय संक्रमित एक हजार ३ सय ६६ पुगेको छ ।