
दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्र्ताष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका आउन तीन साताभन्दा कम समय मात्रै बाँकी रहेका बेला अर्जेन्टिनामा हुने सम्पूर्ण फुटबल गतिविधिमा प्रतिबन्ध लागेको छ । कोरोना भाइरसको दोस्रो लहर डरलाग्दो गरी सुरु भएपछि त्यहाँ कुनै पनि प्रकारको फुटबल गतिविधि गर्न नपाइने गरी फुटबल संघले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
जुन ११ तारिखबाट सुरु हुने कोपा अमेरिका फुटबलको मुख्य आयोजक देश नै अर्जेटिना हो । अब आयाजक देशमै फुटबल गतिविधिमा रोक लागेपछि ठूलो प्रतीक्षासाथ हेरिएको कोपा अमेरिका फुटबल पनि आफैंमा अन्योलग्रस्त बनेको छ । अर्जेन्टिनाले जनस्वास्थ्य सुरक्षाका कारण सबै प्रकारका फुटबल गतिविधिमा रोक लगाएको त्यहाँका सरकारी मिडियाले जनाएका छन् ।
अर्जेन्टिनामा अहिले कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ । अर्जेन्टिना फुटबल एसोसिएसनले सरकारी सुरक्षा निकाय र स्वास्थ्य मन्त्रालयसँग सम्वन्य गरेर फुटबल गतिविधिमै रोक लगाएको हो । तर, त्यहाँका खेलकुद र स्वास्थ्य मन्त्रालयले भने हालसम्म यसको घोषणा गरिसकेका छन । ७२ घन्टाभित्र कोरोनाका लागि सरकारले कडा प्रोटोकल जारी गर्ने तयारी गरेको खबर छ ।
यो निर्णयले अब कोपा अमेरिका फुटबल पनि अन्योलमा पारेको छ । यसपटक कोपाको मुख्य आयोजक अर्जेन्टिना हो । २ दिनअघि मात्रै दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोले) ले सहआयोजक रहेको कोलम्बियालाई सहआयोजकबाट हटाएर अर्जेन्टिना एक्लैलाई प्रतियोगिता आयोजनाको जिम्मा दिएको थियो । लगत्तै त्यहाँ नयाँ निर्णय भएको हो ।
त्यसको दुई दिनपपछि नै त्यहाँको फुटबल संघले फुटबल गतिविधिमा प्रतिबन्ध लगाएपछि सबैखाले घरेलु फुटबलसहित कोपा अमेरिका पनि अन्योलमा परेको हो । यसपटक हुन लागेको कोपा गत वर्ष २०२० मै हुनुपर्ने थियो । तर, कोरोनाकै गत वर्षको प्रतियोगिता यस वर्षलाई सारिएको थियो । यसपटक पनि कोरोनाले प्रतियोगिता प्रभावत हुने पक्का भएको छ ।
अर्जेन्टिनामा अहिलेसम्म ३५ लाखभन्दा बढीमा कोरोनाका केस पुष्टि भएको छ । जसमा यो समाचार बनाउँदासम्म ७३ हजार ३ सय ९१ जनाको ज्यान गइसकेको छ । त्यहाँ पछिल्ला ७ दिनयता दैनिक १०० जनाको कोरोनाका कारण ज्यान गइरहेको छ । र, यो बढ्दोक्रममा छ । दैनिक मृत्युदर १५–२० मा झरेर केही दिनयता १०० नाघ्न थालेपछि त्यहाँ कोरोनाको दोस्रो लहर सुरु भएको ठानिएको छ ।