
स्पेनिस क्लब एथ्लेटिको मड्रिडले गत राति सिजन २०२०–२१ को घरेलु लिग ला लिगाको उपाधि जित्यो । उसले सिजनको अन्तिम ३८औं साताको खेलमा रियल भाल्लाडोलिडविरुद्ध अवे मैदानमा १–२ को कमब्याक जित निकाल्दै उपाधिमा आफ्नो नाम लेखायो । एथ्लेटिकोलाई उपाधि च्याम्पियन बन्न अन्तिम खेलमा अनिवार्य जित नै आवश्यक थियो । यदि बराबरी वा हारेको भए रियल मड्रिड च्याम्पियन बन्ने थियो । तर, जरुरी खेलमा एथ्लेटिकोले भाल्लाडोलिडलाई हराउँदै ७ वर्षपछि लिग च्याम्पियन बन्यो ।
एथ्लेटिकोलाई उपाधि जिताउनेक्रममा फरवार्ड लुइस स्वारेजले निर्णायक गोल गरेका थिए । त्यसअघि लिगको ३७औं साताको खेलमा पनि एथ्लेटिको हार नजिक पुगेका बेला स्वारेजले नै अन्तिम समयमा गोल गरेर टिमलाई महत्त्वपूर्ण जित दिलाउँदै उपाधि होडमा कायमै राख्न योगदान दिएका थिए । अन्तिम दुई महत्त्वपूर्ण खेलमा टिमलाई जिताउन स्वारेज नायक बने । गत रातिको जितमा स्वारेजकै गोलका कारण एथ्लेटिको रियल मड्रिडलाई पछि पार्दै च्याम्पियन बन्यो ।
गत समर सिजनमा बार्सिलोनाबाट अपमानित तरिकाले लखेटिएर एथ्लेटिको पुगेकै सिजन ला लिगा उपाधि जितेपछि स्वारेज गत राति खेलपछि निकै भावुक देखिए । खेल सकिएर टिम च्याम्पियन बन्दा उरुग्वेन फरवार्ड स्वारेज मैदानमै रोएका थिए । उपाधि जितेको खुसीयालीमा स्वारेज परिवारका सदस्यसँग भिडियो कल गर्नेक्रममा धरधरी रोएका थिए । उनी रोएको भिडियो क्लिप र तस्बिर अहिले भाइरल भइरहेको छ ।
गत समर सिजनमा बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजलाई क्लब छाड्न बाध्य बनाएका थिए । आफ्नो योजनामा स्वारेज नरहने बताउँदै उनले स्वारेजलाई बिदा गर्न क्लबलाई दबाब दिएका थिए । जबकि, स्वारेज क्लब छाड्न चाहँदैन थिए । तर, कोम्यानको निर्णयका कारण स्वारेज ६ वर्ष बिताएको क्लब छाड्न बाध्य भए । कोम्यानले स्वारेजको बढ्दो उमेरलाई कारण देखाउँदै उनी अब उच्च स्तरमा खेल्न नसक्ने भन्दै बिदा गरेका थिए । क्याम्प नोउमा भएको बिदाइ कार्यक्रममा स्वारेज आँसुसरी भएर रुँदै क्लब छाडेका थिए ।

उनै स्वारेजको मुख्य योगदानमा एथ्लेटिकोले यस सिजन ला लिगा उपाधि जित्यो । जबकि, बार्सिलोना भने मात्रै तेस्रो स्थानमा रह्यो । बार्सिलोनाका लागि यो सिजन ला लिगामा जस्तो भयो, त्यो सन् २००७ भन्दा यताकै सबैभन्दा खराब हो । संयोग पनि कस्तो ! बार्सिलोनाबाट लखेटिएका स्वारेजकै कारण एथ्लेटिकोले ७ वर्ष उपाधि जित्यो भने बार्सिलोना स्वारेजबिना १५ वर्षयताकै खराब स्थितिमा पुग्यो । यो तथ्यांकले पनि स्वारेज बार्सिलोनाका लागि कति महत्त्वपूर्ण खेलाडी थिए भन्ने बताउँछ ।
यस सिजन स्वारेजले ला लिगामा कूल ३२ खेल खेल्दै २१ गोल गरे भने ३ गोलमा असिस्ट प्रदान गरे । उनले ला लिगामा मात्रै एथ्लेटिकोका लागि ११ खेलमा विजयी गोल गरे । जबकि, उता बार्सिलोनामा यस सिजनभरमा लिओनल मेस्सीले मात्रै ५ खेलमा विजयी गोल गरे । यसरी हेर्दा स्वारेजबिनाको बार्सिलोना निकै फितलो देखियो भने बार्सिलोनाबिनाको स्वारेज झन् गजब र सफल देखिए । जतिबेला बार्सिलोनाले स्वारेजलाई अपमानजनक ढंगले लेखट्यो, त्यसबेला धेरैले बार्सिलोना र प्रशिक्षक कोम्यानको आलोचना गरेका थिए ।
किनभने, त्यसबेला बार्सिलोनाले आफ्ना एक प्रमुख फवार्डलाई फ्री ट्रान्सफरमा आफ्नो सोझो प्रतिस्पर्धी क्लब एथ्लेटिकोलाई जिम्मा लगायो । मात्रै बोनसको सम्झौतामा । तर, बार्सिलोनाले तिमी बुढो भयौ भनेर लखेटेका स्वारेजले एथ्लेटिकोमा इख राखेर बार्सिलोनालाई देखाउनकै लागि मेहनत गरेर खेले । र, उनले सिजनभरमा २१ गोल गर्दै टिमलाई च्याम्पियन बनाएरै छाडे । उनले आफूलाई अपमानजनक ढंगले लखेट्ने बार्सिलोनालाई मैदानबाटै निकै गतिलो जवाफ दिए, उपाधिका साथमा । सायद, बार्सिलोना यतिबेला स्वारेजलाई त्यसरी खेदेकोमा ठूलो पछुतोमा हुनुपर्छ ।
अपमानको जवाफमा स्वारेजले बार्सिलोनालाई दिए धन्यवाद

गत राति ला लिगा उपाधि जितेपछि स्वारेजले मिडियासँग कुरा गर्दै बार्सिलोनालाई पनि सम्झिाए । उनले घुमाउरो पारामा बार्सिलोनालाई आफूसँग एक वर्षअघि गरेको खराब व्यवहारको जवाफ निकै मिठो गरी फर्काए । आफूले नचाहँदा नचाहँदै बार्सिलोनाले आफूलाई लेखेटेको कुरा स्वारेजले पनि सार्वजनिक रूपमै बताए । बार्सिलोना छाड्नुपर्दा आफू निकै ठूलो पीडाबाट गुज्रिएको कुरा स्वारेजले बताए । गत राति स्वारेजले खेलपछि भनेका कुरा यहाँ राखिएको छ–
१. ‘म जुन लक्ष्य र संकल्प लिएर यहाँ आएको थिएँ, तीमध्ये केही मुख्य कुरा प्राप्त भयो । म यो टिमका लागि साँच्चै नै ला लिगा जित्न चाहन्थें । मेरा लागि यो कति महत्त्वपूर्ण छ भन्ने मलाई मात्रै थाहा छ । मैले गरेका २१ गोल ठूलो कुरा होइन । मुख्य त यो टिमले ७ वर्षपछि लिग जित्नु हो । बार्सिलोना र रियल मड्रिडसँग भिडेर उपाधि जित्नु अवश्य पनि सजिलो थिएन । तर, हामीलाई यसलाई सम्भव बनायौं । हामी सबै खुसी छौं ।’
२. ‘एक वर्षअघि बार्सिलोना छाड्नुपर्दा म ठूलो पीडाबाट गुज्रिएको थिएँ । म बार्सिलोना छाड्न चाहँदैन थिए । तर, उनीहरूले मलाई महत्त्व दिएनन् । कोचले मलाई तिमी बुढो भयौ भनेर भन्दा मलाई ठूलो चोट परेको थियो । जतिबेला उनीहरूले मलाई अपमानजनक ढंगले जाऊ भने त्यसबेला मलाई एथ्लेटिको मड्रिडले ढोका खुला गरिदियो । यो क्लबका लागि मेरा जीवन र दिलमा सधैं विशेष स्थान हुनेछ । किनभने, अप्ठेरो बेला मलाई एथ्लेटिकोले विश्वास गर्यो । र, मलाई हामीकहाँ आऊ भन्यो ।’
३. ‘उनीहरूले मलाई जसरी बिदा गरे, त्यो राम्रो थिएन भन्ने मलाई आज पनि लाग्छ । तर, म त्यसका लागि धन्यवादबाहेक केही भन्न सक्दिनँ । म बार्सिलोनाका बारेमा नराम्रो सोच्न सक्दिनँ । किनभने, त्यहाँ मैले ६ वर्ष बिताएँ । त्यहाँ मेरो थुप्रै साथीहरू छन् । त्यहाँ मैले करिअरका सुनौला वर्षहरू बिताएको छु । तर, अब मेरो वर्तमान र भविष्य एथ्लेटिको हो । म यो क्लबका लागि सबथोक जित्न चाहन्छु । यसपटक हामीले ला लिगा जित्यौं । अर्को सिजन पनि म यो जित्न चाहन्छु । अरू पनि जित्न चाहन्छु ।’
