
धरमपुर / झापाको शिवसताक्षी नगरपालिकामा गए राती आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएको छ ।
२ नम्बर वडा स्थित मंगलबारे बजारका नेत्र चिमरिया र उनकी छिमेकी नन्दकला राइको घर आगलागी हुँदा उनीहरूको घर जलेर कामै नलाग्ने भएको हो । शिवसताक्षी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कुलबहादुर बस्नेतका अनुसार राति साढे १ बजे फैलिएको आगोले चिमरिया र राईको घर खरानी भएको हो । धनमाल केही निकाल्न नसकिएको वडाध्यक्षको बस्नेतले बताए ।
सुतेकै अवस्थामा घरमा आगलागी भएको थाहा पाएपछि घरधनीहरु बाहिर निस्किएका थिए । झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको वारुण यन्त्रले ढिलो गरी आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट चिमरियाको घरमा बहालमा रहेको दुर्गा बुढाथोकीको होटल समेत जलेर नष्ट भएको छ ।
यस्तै राईको घरमा भएको रसायनिक मलको पसल र सिलाई कटाई टेलरिङ्ग पसल जलेको छ । टेलरिङ्ग पसलको २५ वटा सिलाई मेसिन जलेर कामै नदिने भएको वडा अध्यक्ष बस्नेतले जानकारी दिए ।
आगलागी के कारणले भयो भन्ने बारेमा केही खुल्न सकेको छैन । घटनास्थलमा प्रहरीले घटनाको विवरण संकलन गरिरहेकोले के कति क्षति भयो भन्ने विषयमा पनि केही खुल्न नसकेको वडाध्यक्षको बस्नेतले बताए ।