
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्दले सोमवार (आज) विज्ञप्ति निकालेर तत्काल अध्यादेश फिर्ता गर्न माग गरेका हुन्।
हरेक नेपाली नागरिकले सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भए पनि सत्ता सङ्कट टार्नकै लागि सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासचिव चन्दले बताएका छन् ।
राष्ट्रिय महत्त्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक रहेको भन्दै उनले त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता सङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्रै निर्णयहरू सार्वजनिक हुने गरेको उनको आरोप छ ।
जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी थिइन् । त्यसलगत्तै सरकारको चर्को आलोचना भइरहेको छ ।