
।। भोजराज घिमिरे ।। मोरङ ।।
प्रदेशसभा सदस्य बिन्दिया कार्कीको छोरा रोविन कार्कीले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
कारको ठक्करबाट गम्भीर घाईते भएका पैदलयात्री ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । बिहीबार साँझ साढे ७ बजे विराटनगर कोशी अस्पतालमा उपचारको क्रममा शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही कारको ठक्करबाट घाईते भएका कटहरी निवासी २२ वर्षीय राजकुमार राजवंशीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ ।
उनीहरु विराटनगर वाड न ४ स्थित न्यू एभरेष्ट स्टिल उद्योगमा कार्यरत मजदुर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई उद्योगमा काम गरेर फर्किने क्रममा प्रदेश ३-०१-००२ च २१३९ नम्बरको कारले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुका अनुसार कारको ठक्करबाट घाईते भएका शर्मा र राजवंशीको अवस्था गम्भीर देखेपछि चालक कार्की त्यहाँबाट फरार भएका छन् ।
कार्कीले यसअघि पनि थुप्रै दुर्घटना गरेको स्रोतको दाबी छ । यद्यपि पहुँचमा भएको कारण उनी छुट्दै आएका थिए ।