jQuery(document).ready(function($){ //
});

।। भोजराज घिमिरे ।। मोरङ्ग ।।

प्रदेश १ प्रदेशसभाको आज सुरु भएको बजेट अधिवेशनमा विपक्षी दलहरु सरकारविरुद्ध खरो रुपमा प्रस्तुत भएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै विपक्षी दलका नेताहरूले सरकारले संघीयताको मर्म अनुसार काम नगरेको, संघीय सरकारको प्रतिगामी कदमको साथ दिएको, कोरोना महामारी नियन्त्रणमा कुनै प्रभावकारी काम नगरेको र संसदलाई छलेर अगाडि बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हन् ।

संघीय सरकारका हरेक गलत कामको सुरक्षामा प्रदेश सरकार लागेको पनि उनीहरूको आरोप थियो । मुख्य विपक्षी दल कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले प्रदेशसभालाई बेवास्ता र उपेक्षा गरेको भन्दै असन्तोष प्रकट गरे । हिउँदे अधिवेशनमा सरकारी पक्षबाटै भएको सदन बहिष्कारको प्रसंग स्मरण गर्दै उनले त्यसप्रति आश्चर्य प्रकट समेत गरे ।

‘प्रदेश सरकार संसदलाई उपेक्षा गरेर अघि बढ्यो,’ उनले भने, ‘हुँदाहुँदा अघिल्लो अधिवेशनमा त सरकार आफैंले सदन बहिष्कार र्गयो, यो गर्न मिल्ने काम थियो?’ प्रदेशसभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भोट माग्दै गर्दा, जनतासामु गरेका प्रतिवद्धता सरकारको कारण पुरा नहुने अवस्था आएको भन्दै कोइरालाले त्यसको जवाफ सरकारले दिनुपर्ने बताए । सरकारले बजेटमा विनियोजन गरेको रकमसमेत उपलब्ध नगराएको भन्दै उनले रातो कितामा भएका योजनाको रकम कहाँ गयो भन्ने जवाफ दिनुपर्ने बताए । ‘३६ सालमा वनजंगल सखाप भयो, त्यसयता सबैको नजर नदीनालामा गएको छ,’ उनले भने, ‘प्राकृतिक स्रोत सकेर के गर्न खोजिएको हो? देश भनेको भूगोल मात्रै होइन, जनता पनि हो ।’

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार एकपछि अर्काे कलाविहीन नाटकमा मात्र केन्द्रित भएको आरोप लगाए । प्रधानमन्त्री केपी ओली नाटकका लागि सिपालु रहेको भन्दै उनले प्रदेश सरकारले त्यस्तो नाटकको सिको गर्दा प्रधानमन्त्रीबाट कलाहरू भने सिक्न नसकेको भन्दै व्यंग्य गरे ।

‘संघीय सरकारको सिको गर्दै सरकारले प्रदेशसभालाई छलेर अध्यादेशमार्फत शासन गर्ने प्रयास गरिरहेको छ,’ उनले भने, ‘फागुन २३ को फैसलापछि सरकार बहुमतमा रहेको बेला संसद छलेर गुमनाम भएको छ। बजेट अधिवेशन छल्ने प्रयास सरकारले गरे पनि हाम्रो दबाबपछि अधिवेशन सुरू भएको छ ।’

प्रदेशका नागरिकलाई कोरोनाको खोप व्यवस्थित रुपमा नलगाइएको र खोपमा पनि विभेद भएको भन्दै आङ्बोले आपत्ति जनाए। सरकारले चन्दा दिने व्यापारीलाई लुकिछिपी खोप लगाएर अग्रपंक्तिमा खटिने प्राथमिकता प्राप्त समूहलाई छुटाएको उनको आरोप थियो ।

कोरोना महामारीको बेला सरकारको लापरबाहीको कारण नागरिकको ज्यान गएको भन्दै आङ्बोले कोशी कोभिड अस्पतालमा विद्युत समस्याको कारण ६ जना बिरामीको मृत्यु भएको घटनाको अनुसन्धान हुनुपर्ने माग गरे ।

जनता समाजवादी दलका संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकारको कार्यशैली कमजोरीले संघीयताकै हुर्मत लिएको आरोप लगाए । उनले प्रदेशसभा छल्न खोज्ने सरकारी नियतमा पनि उनले प्रश्न गरे ।

आजदेखि अधिवेशन सुरू भयो, यही अधिवेशन केही अघि बोलाएको भए के हुन्थ्यो?,’ यादवले भने, ‘सरकारले अध्यादेशबाट प्रि बजेट छलफल उपेक्षा गरेको छ ।’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्बेले सरकारले संघीयताको मर्म अनुसार काम नगरेको भन्दै सानातिना बजेटमा संघीय सरकारको आँखा लाग्नु गलत भएको बताइन् । प्रदेश सरकारले पनि जनताप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको उनको भनाइ थियो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिमा तीव्र रूपमा कोभिड फैलिएको बताएका छन् ।

मुख्यमन्त्री राईले आजदेखि सुरु भएको प्रदेश १ को बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले राजनीतिक कोभिडले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनलाई कोभिड १९ को संज्ञा दिएका छन् । ‘राजनीतिमा नयाँ प्रकारको कोभिड देखियो, केन्द्रबिन्दु काठमाडौँको धुम्बाराही,’ उनले भने, ‘कोभिड १९ बिस्तारै फैलियो, तर राजनीतिक कोभिड तीव्र गतिमा फैलियो, कसैलाई बाँकी राखेन ।’
मुख्यमन्त्री राईले प्रदेश १ पनि दुवैखालका कोभिडबाट प्रभावित भएको समेत बताए । दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए । बैठकलाई सम्बोधनका क्रममा उनले प्रदेशसभालाई छलेको नभई कोभिड महामारीका कारण बैठक ढिलो बोलाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय