
काठमाडौं जेठ २६ वर्षा याम सुरु गराउने मौसम प्रणाली– मनसुन, नेपालमा भित्रिनै लागेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ। मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने हो।
उनका अनुसार मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ। काठमाडौं उपत्यकामा पनि चिसो महसुस भएको छ। ‘अब एक दुई दिनभित्रमै मनसुन नेपाल प्रवेश गर्ने सम्भावना देखिएको छ,’ मौसमविद् पौडेलले बुधबार भने, ‘हामी निरन्तर अध्ययनमा छौं, भरे/भोलिसम्म यस विषयमा बुलेटिन जारी गर्छाैं होला।’
उनका अनुसार मनसुन बंगालको खाडीमा आइपुगेको छ। दक्षिण हिन्द महासागरअन्तर्गत पूर्वी अफ्रिकाको म्यातागासकार टापुनजिक समुद्रमा बन्ने उच्च चापीय क्षेत्रबाट मनसुन विकास भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्छ।
सतर्कता अपनाउन आग्रह
यसपटक अधिक वर्षा हुने भनेर आफूहरूले २ महिनाअघि नै सूचना सार्वजनिक गरिसकेको बताउँदै मौसमविद् पौडेलले बाढी आउने, पहिरो जाने तथा डुबान हुने क्षेत्रमा सम्बन्धित निकाय तथा नागरिकले क्षतिबाट बच्ने तयारी गर्न सुझाव दिएका छन्। ‘अझै पनि तयारी गर्ने समय छ, सुरक्षित स्थानमा सर्नुपर्ने हो कि,’ उनले भने, ‘यस्ता विषयमा पहिले ध्यान दिन सक्यौं भने क्षतिबाट बच्न सकिन्छ।’
यो पढ्नुहोस् : यो वर्षको मनसुनमा बढी जोखिम हुन सक्छ
आजको मौसम
मौसमविद् वरुण पौडेलका अनुसार अहिले (बुधबार बिहान) केही स्थानमा वर्षा भइरहेको छ। पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभावले वर्षा भइरहेको हो। उनका अनुसार अहिले तराईका केही स्थानमा विशेषगरी प्रदेश नम्बर २, अनि चितवनयता, धादिङका केही निश्चित स्थान साथै पोखरातिर पनि हल्का वर्षा भइरहेको छ। तर अहिले कम हुँदै गएको छ।
यस्तै आज दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। मौसमविद् पौडेलका अनुसार आज साँझपख काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ।