
रोमादेवी निरौला, १ नं प्रदेश सचिव, मौलिक जरोकिलो पार्टी
हामीलाई थाह हुन पनि सक्छ र नहुन पनि । यदि हामीले सचेतनापूर्वक साक्षीभावले आत्मचिन्तन र विवेचना गर्ने हो भने नेपाल गम्भीर परिस्थितिबाट गुज्रिरहेको तथ्य हामीलाई छर्लङ्ग हुन्छ । थाह नपाउनु र थाह नपाए जस्तो गर्नु दुई विपरितार्थक तथ्यहरु हुन भन्ने हेक्का सबैले राख्नु जरुरी भइसकेको छ ।
वर्तमान नेपालको अवस्थातर्फ दृष्टि पुर्याउने हो भने एकातिर पराई प्रतिमानलाई आदर्श मानेर राजनीतिक अवस्था तहस-नहस पारिएको छ भने अर्कातिर आधुनिकताका नाममा सामाजिक व्यवस्थालाई नै गम्भीर कुठाराघात गरिएको छ । यसै गरि धर्म-संस्कार, संस्कृति, सभ्यता , नैतिकता, स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रका विश्रृङ्खलताहरु त भनि साध्य छैन । हरेक दृष्टिकोणबाट नेपाललाई धुजाधुजा पारिएको छ । यस्तो परिदृष्यलाई महसुस गर्न नसक्नु हाम्रो अज्ञानता मात्र होइन अपितु व्यक्तिगत स्वार्थमा रुमल्लिएको दृष्टान्तको पराकाष्ठा पनि हो ।
विगत लामो समयदेखि शासनसत्ताको केन्द्रमा रहेका कपुतन्त्रका राजनीतिक दल भनाउँदाहरुले आफ्नो सत्तास्वार्थ र व्यक्तिगत फाइदाका लागि जस्ता सुकै राष्ट्रघाती कदम चाल्न पनि पछि परेका छैनन् । यिनीहरुले आदर्श मानेका पराई प्रतिमानका र संसारबाट नै गतार्थ भइसकेका समाजवाद, उदारवाद जस्ता खोक्रा नाराहरुमा अलमलिंदै हामी सर्वसाधारण नेपाली जनताले कहिलेसम्म चुप लाग्दै सहेर बस्ने भन्ने प्रश्न आज टड्कारो रुपमा रहेको छ । यसै गरि जनताको नाममा पार्टी मार्फत व्यक्तिको सर्वसत्तावादी रजाईं चलाउने चरित्रमा हामी कहिलेसम्म दीनभावनामा निरिह बनिरहने भन्ने सत्यताले पनि हामीलाई घोच्ने बेला भइ सकेको छ ।
कि डरले कि स्वार्थले , मानिस गलत कामलाई सहयोग पुर्याइ रहेको हुन्छ । हामी वीर गोर्खाली भनेर गर्वले छाति चौडा पार्ने नेपालीहरुलाई डरको कारणले अरुको व्यक्तिगत स्वार्थको साक्षी बस्ने कुरा कति पनि सुहाउँदैन । त्यसै गरि अव समाज र राष्ट्रको लागि आफ्नो व्यक्तिगत स्वार्थ पनि परित्याग गर्ने सत्प्रेरणाले मात्र आफ्ना सन्ततिहरुको गौरव नेपाल धर्तिमा कायम गर्न सकिन्छ भन्ने हेक्का सबैलाई हुन जरुरी छ । यी र यस्तै विसङ्गतिहरुको अन्त्य गर्दै मौलिक प्रतिमान र नवीन विचारधाराकासाथ युगान्तकारी एवम् युगप्रवर्तनकारी दृष्टिकोण सहित युवा एवम् विद्वान व्यक्तित्व आदरणीय सुशील गौतमको विशिष्ट नेत्तृत्वमा मौलिक जरोकिलो पार्टी सुनौलो विहानीका लागि नेपाललाई विश्वको केन्द्र बनाउने उद्देश्य र मार्गचित्र बोकेर हाम्रो माझ आइसकेको तथ्यलाई गहनतापूर्वक विमर्श गर्न आवश्यक भइसकेको छ ।
नेपाल आमाका सुयोग्य सुपुत्र युगद्रष्टा गुरुदेव डा• निर्मलमणि अधिकारीज्यूबाट वर्षौंको अनुसन्धान, अनुष्ठान र साधनाको फलस्वरूप अभिनिर्मित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद एवम् आधारशीला चतुष्टय ( विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्ध ) लाई मार्गनिर्देशक मानेर मौलिक जरोकिलो पार्टी राष्ट्र र जनताको सर्वोपरी हितमा समर्पित रहेको छ । आज देशले नयाँ दर्शन, नयाँ सिद्धान्त, नयाँ प्रतिमान, नयाँ प्रणालि, नयाँ संविधान , नयाँ पात्र, नयाँ पात्रताको खोजी गरिसकेको छ । यो वास्तविकता एवम् युगको आवश्यकतालाई जति सक्दो छिटो हामीले आत्मसात गर्न सक्यौं भने मात्र नेपालले आफ्नै भनाउँदा परचक्रीका दासहरुबाट मुक्ति पाउनेछ ।
बिगतका दिनमा धेरैले धेरै थरीका प्रयोगहरु नेपालमा गरिसकेका छन् । त्यस्ता प्रयोगहरुले देश र जनताको उन्नति गर्नुको सट्टा दिनानुदिन नेपाललाई रसातलमा धकेल्दै लगेको छ । अब नेपाल र नेपालीले भोग्दै आएका तमाम समस्याहरुको निकास एउटा मात्र छ , त्यो हो पराई प्रतिमानका पृष्ठपोषक कपुतन्त्रको समूल अन्त्य गर्दै मूलधारको राष्ट्रिय चरित्र बोकेको मौलिक जरोकिलो पार्टीलाई अग्रणी बनाउन मद्दत गर्नु ।
अव साँच्चै नै हामीले मौलिक प्रतिमानको आधारमा नेपालको राष्ट्रिय चरित्रलाई स्थापित गर्दै विश्वको गुरुदेश र विश्वको केन्द्र बनाउने हो भने जरोकिलो महाअभियान, सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त एवम् युगद्रष्टा गुरुदेवको मार्गनिर्देशनलाई केन्द्रमा राखेर काम गर्नै पर्दछ । नत्र सदासदा नेपालको अवस्था यस्तै नै रहिरहनेछ । युगले दिएको सामर्थ्य र शक्तिलाई चिनौं । युगान्तकारी एवम् युगप्रवर्तनकारी दृष्टिकोणका शक्तिपुञ्ज युगद्रष्टा गुरुदेवलाई अन्तर्मनबाट चिनेर उहाँको मार्गनिर्देशनमा स्वकृयात्मक भावले जरोकिलोको मार्ग छनौट गरौँ ।