
।। किशोर निरौला ।।
बुधबार दिउँसो १२ बजे नेपाली सेनाले घरको छतबाट बोरा हल्लाएर गुहार मागिरहेका एक जनालाई उद्धार गर्यो ।
उनी मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण मेलम्चीमा आएको भीषण बाढीको डुबानमा परी बन्दै गरेको घरको छतमा फसेर बसेका थिए ।
त्यसरी डुबानमा परेको घरको छतमा फसेका व्यक्ति ओखलढुङ्गाको सल्यानका ४६ वर्षे राजु राई हुन् । १२ वर्षदेखि मेलम्चीमा निर्माण मजदुरको काम गरिरहेका उनले निर्माणको काम गरिरहेकै घर मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको भीषण बाढीको डुबानमा परेको थियो ।
रातभर गुहार मागे पनि उद्धार गर्ने कोही नपाएपछि बिहान भएसँगै उनले उद्धारका लागि बोरा हल्लाउन थाले । उनी भन्छन्, ‘रातभर कराउँदा–कराउँदा बोली नै सुकिसक्या थियाे ।’
राई त्यही घरको छेउमा छाप्रो बनाएर बसेका थिए । राति उनी बसेको छाप्रोमा पानी छिर्यो । त्यसपछि उनी त्यही बनाउँदै गरेको घरमा गए । रातभर पानी परेर घर डुबानमा परेपछि उनी त्यही घरको छतमा गएर बसे ।
‘बाँच्छुजस्ताे त लागेकै थिएन । रातभर छतमा पानीमा भिजेर बसेँ । उद्धारका लागि गुहार मागेँ । तर गुहार सुन्ने कोही भएनन् । डर र भोकले सासै सुक्यो । जिउमा टिसर्त मात्र थियो । जाडो पनि भयाे,’ राईले काँप्दै भने ।
रातभर उनको आसपास भएका घरका मान्छे ज्यान जोगाउन घरै छाडेर हिँडे । तर, डुबानमा परेको घरको छतमा फसेका उनलाई आज दिउँसो १२ बजे मात्र नेपाली सेनाले उद्धार गरेको हो । उद्धार गरेर उनलाई इन्द्रेशोइरी माविमा लगियो ।
‘हिजोदेखि खान नपाएको भात र पानी बल्ल आज खान पाएँ,’ राईले भने ।