
विराटनगर महानगरपालिकाको आठौं नगर सभामा मा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भयो । बजेट महानगरले अघिल्लो वर्षकै हाराहारी कै बजेट ल्याएको छ ।
आगामी वर्ष चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार नौ सय २५, पुँजीगततर्फ तीन अर्ब ५८ करोड ३२ लाख ८५ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ पाँच करोड रुपैयाँ खर्च हुने महानगरको अनुमान छ । महानगरले चालुतर्फ ११ प्रतिशत र र पुँजीगततर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ ।
महानगरले प्रस्तुत गरेको बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत सङ्घीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड नौ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५ सय, सङ्घसंस्थाबाट १ करोड ४४ लाख, जनसहभागिताबाट दस करोड आम्दानी हुने अनुमान प्रस्तुत गरेको छ । पुँजीगत खर्चमध्ये पूर्वाधार विकासका लागि २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, सामाजिक विकासतर्फ १ अर्ब २६ करोड ६९ लाख, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।महानगरले आगामी वर्ष हामी सबैको रहर, शिक्षित, सफा सुन्दर, सुरक्षित र सक्षम विराटनगर भन्ने नारासहित नगर विकासको योजना कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि सुशासनमा सुधार ल्याउने, वातावरण संरक्षण र सुरक्षा प्रवद्र्धन, वालश्रममुक्त वडा घोषणा गर्ने, नगरस्तरी खेलकुद विकास समिति गठन गर्ने र खेल प्रतियोगिताहरु सञ्चालन गर्ने, जनस्वास्थ्यलाई ध्यान दिँदै महिला तथा जेष्ठ नागरिक र बाल बालिकाको स्थास्थ्यका क्षेत्रमा पनि योगदान दिने जस्ता कार्यक्रम अगाडि सारेको उल्लेख छ ।
महानगरले २० लाख रुपैयाँ भन्दा बढीका योजनाहरु ठेक्का मार्फत सञ्चालन गर्ने, चालु तथा क्रमागत योजनाहरुलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने जस्ता योजनाहरु अगाडि सारेको छ ।