
इन्द्र प्रसाद ओली, अध्यक्ष, मौलिक जरोकिलो पार्टी, १ न प्रदेश समिती
न्याय र धर्म एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध राख्दछन् ।
जहाँ धर्मको विवेक हुँदैन त्यहाँ न्यायको अनुभूति गर्न पाइँदैन भने जहाँ न्यायको आशा समाप्त हुन्छ त्यहाँ धर्मको पनि स्थान रहँदैन ।
जुन ठाउँमा अधर्मी , परधर्मी , विधर्मी वा धर्मविरोधीहरूको बोलवाल रहन्छ त्यस ठाउँबाट न्याय र धर्म दुवैको अस्तित्व समाप्त हुनजान्छ । जो धर्मलाई मान्दैन, जो धर्मको विवेक प्रयोग गर्दैन भने उसबाट के न्यायको आशा गर्न सकिन्छ र ? धर्म चाहिँ मान्दिन तर न्याय चाहिँ दिन्छु भन्छ भने पनि पत्याउन गाह्रो हुन्छ । न्याय दिनु भनेको धर्मलाई हृदयबाट नै आत्मवोध गर्नु हो । त्यसै कारणले विभिन्न मुलुकमा शपथग्रहण गर्दा आ-आफ्नो मान्यताको धार्मिक पुस्तकलाई शिरोपर गर्छु भन्ने देखाउन टाउकोमा त्यस्तो पुस्तक राखिदिने चलन छ । अधर्मीले केको न्याय दिन्छ ? कानुनीराज्य भन्नू नै धर्मको विवेकले सञ्चालित राज्य बन्न खोज्नु हो । धर्मको पालना गरियो भने मात्र ऐन , कानुन, नियम, विधान, संविधानको पालना हुन सक्छ । त्यसैले अहिले नेपाल धर्म विहिन , न्याय विहिन छ । यहाँ कोही म न्याय दिन्छु तर धर्म मान्दिन भन्ने सत्तावृत्तमा छन् । यिनीहरु नेपालको धर्मलाई, नेपालको राष्ट्रिय चरित्रलाई आत्मसात गर्दैनन् । धार्मिक ग्रन्थहरू छुन मान्दैनन् । राष्ट्रदेव भगवान पशुपतिनाथको दर्शन गर्नु त परको कुरा , नाम समेत उच्चारण गर्न सक्दैनन् । हाम्रा मौलिक धर्म, संस्कार, संस्कृति, सभ्यताको वद्ख्वाईं गर्न तल्लिन रहन्छन् । यदि पराई श्रोतको कुरा छ भने होलीवाइन खान घर छोडेर होटलमा श्रीमती सहित उपस्थित हुन्छन तर पञ्चकव्य त खाँदैन खाँदैन तर त्यसको अति नै ठूलो विरोध गर्दछन् । जो भौतिकवादी छ वा समाजवादको कुरा गर्छ त्यसको कुरा पत्याउनु मूर्ख मनुष्य हुनु हो । यिनीहरु कहिलेकाहीँ आफ्नो स्वार्थ पूरा गर्न, जनताको मनलाई कैद गर्न धर्मको कुरा गर्दछन् । उस्तै परे मन्दिर गै टोपल्छन् , चन्दा दिन पनि बेर लागाउदैन् । ती सबै भ्रम र वैचारिक जालमात्र हुन् भन्ने कुरा बुझ्न जरुरी छ । उदाहरणको लागि नेपाली काँग्रेस लगायत सम्पूर्ण कपुतन्त्रका केही नेता नेपालका मौलिक धर्मको कुरा उठाए झैं गर्दछन् तर अन्तर्यमा त्यहाँ सत्ताको तिकडम मात्र रहेको हुन्छ भन्ने तथ्य भुल्नु हुँदैन । केही समय अगाडि सम्माननीय प्रमज्यु पशुपतिनाथको मन्दिर गए झैं कहिले हिन्दु धर्मका गीता, योग, राम सिता आदिका कुरा गर्दछन् ।कमल थापा हिन्दु धर्मको कुरा बेलाबेला सामाजिक सञ्जालमा पोष्ट गर्छन तर त्यो केवल वैचारिक भ्रम मात्र हो । आचरण र व्यवहार बिनाका भ्रमजाललाई पत्याएर त्यस्ता मौकापरस्त व्यक्तिहरूलाई विश्वास गर्ने हामी जनता चाहिँ मूर्ख हौं , वहाँहरू मूर्ख होइन । उनिहरुको काम ठिक उल्टो हुन्छ, चटकेले दर्शकको मनोभावलाई विचार गरेर चटक देखाए जस्तै उनीहरू पनि जनताको मनोभावलाई हेरेर अनेक प्रकारका चटक देखाउन माहिर हुन्छन् ।
नागरिकलाई शोषण गर्नु , धर्म निरपेक्ष घोषणा गर्नु, बुबा आमाको दैहान्त हुँदा जुत्तासम्म नखोल्नु , भ्रष्टाचार गर्नु , विनास लाई प्रगति मान्नु , जनतालाई वैदेशिक ऋणमा चुर्लुम्म डुवाएर आफू नवधनाढ्य बन्नु , भ्रमको खेती गर्नु, आफू पनि नमिल्नु, जनतालाई कित्ताकाट गर्नु, घरैपाच्छे बोलचाल बन्द गराउनु, धार्मिक, सामाजिक द्वन्द्व मच्चाउनु, हिंसा , बलत्कार व्यभिचार गराउनु आदि आदि उनीहरुका कर्तुतहरू हुन् ।त्यसैले यो अनुरोध गर्न चाहन्छु कि धर्मभिरूहरूले आफ्नो विवेकको प्रयोग गर्नुहोस । त्यस्ता धर्म विरोधीहरूको साक्षी र सहयोगी बन्नु , मतदान दिनु , तिनीहरुलाई नेता मान्नु भनेको आफू पनि विधर्मी बन्नु हो । आफ्नो कुल र वंशको नाश गर्नु हो । पूज्य व्यक्तिलाई घृणा र अपूज्य व्यक्तिलाई पुज्नु भनेको आफ्नो कुल, धर्म र सन्ततिहरूको भविष्य विनाश गर्नु हो । यी कुरा मनमा गुन्नुहोस र गलत गर्नेहरुको जीवनलीला हेर्नुहोस् । उनीहरूको वंश बिनास भएको , जेल परेको र कष्टपूर्ण अवस्थामा पुगेको हेर्नुहोस् । प्राकृतिक प्रकोप , दैवीप्रकोप, राजकीयसत्ता र जनताको जीवन संकटमा परेको तथ्यहरूलाई विचार गर्नुहोस् । हामी मानव चेतनाका संवाहक हौं त्यसैले मूर्ख नबनौं ।
यो युग हाम्रो हो , अघि बढौं । नेपाल आमालाइ केन्द्रमा राख्दै मौलिकताको रक्षा गरौं । असल विवेकशील मानवको परिचय स्थापित गरौं । अधार्मिक र अविवेकी व्यक्तिहरूको वैचारिक जालमा नपरौं ।
नेपाल जननी वन्दे । ॐ ।