
ज्वाला संग्रौला (टिका संग्रौला) सहित ४ जना २३ दिनपछि रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले २३ दिन हिरासतमा रहेका संगौला सहित, शर्मिला वाइवा भनिने शर्मिला राई, यमबहादुर खड्का र हिमाल प्रसाद उपाध्यायलाई रिहा गरेको हो ।
न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कुनै मुद्दामा धरौटी र कुनैमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
उनीहरूविरुद्ध जिल्ला अदालतमा जातीय तथा सामाजिक विभेदसम्बन्धी कसुर, अभद्र व्यवहार र लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। यस्तै, ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि असार ६ गते जातीय तथा सामाजिक विभेद गरेको अभियोग छ।
यो कसुरमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ कानुनी व्यवस्था छ।
ज्वाला र उनका पति हिमालविरुद्ध प्रहरीले कीर्तेमा पनि मुद्दा चलाएको थियो। सरकारी कागजात कीर्ते गरेको अभियोग छ।
कीर्ते कसुरमा ज्वालालाई साधारण तारेख र हिमाललाई एक लाख धरौटी माग भएको जिल्ला अदालतले जनाएको छ।
उनीहरुले नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, जन्मदर्ता लगायतका कागजात कीर्ते गरेको अनुसन्धानमा देखिएको छ।