
कोभिड–१९ को असरले उत्पादन घटेपछि ब्रोइलर कुखुरा मासुको मूल्य बढेर किलोको चार सय १५ रूपैयाँ पुगेको छ। एक महिनाकै अवधिमा कुखुरा मासुको मूल्य किलोमा एक सय रूपैयाँ बढेको हो।चल्ला, दानाको भाउ वृद्धि र कोभिडले जोखिम बढाउँदा ब्रोइलर कुखुरा थोरै उत्पादन भएकाले भाउ बढेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए। ‘एक महिनाकै अवधिमा किलोमा करिब सय रूपैयाँ मूल्य बढ्यो,’ बिसीले भने, ‘दुई हप्ताकै बीचमा चारपटक मूल्य बढेको छ।’
कोभिडको कारण निषेधाज्ञा हुँदा किसानले कम चल्ला राखेकाले त्यसको असर अहिले बजारमा देखिएको हो। कोल्डस्टोरले कुखुराको मासु किलोको ३ सय ८० देखि चार सय रूपैयाँ किलोसम्ममा बेचेका छन्। काठमाडौं उपत्यकामा खुद्रा बिक्रेताले कुखुराको मासु शनिबार किलोको चार सय १५ रूपैयाँमा बिक्री गरे। काठमाडौंमा जिउँदो कुखुरा किलोको दुई सय ८० रूपैयाँमा बिक्री भएको छ।निषेधाज्ञा खुकुलो हुँदै जाँदा कुखुराको मासुको खपत पनि बढेको छ। अहिले होटल, रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। उत्पादन कम र माग बढेपछि त्यसको असर बजारमा देखिएको छ।