
पैसा लिएर साथीको हत्या गर्ने नेपाली सेनाका जवानलाई प्रहरीले पक्राउ गरेको छ । दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत जवान भरतपुर महानगरपालिका २१ का २६ वर्षीय गंगाधर ढकालले पैसाका लागि सोही गणमा कार्यरत हवल्दार भरत गुरुङको हत्या गरेको चितवन प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
ढकाललाई घटना भएकै दिन अपराह्न ४ बजे पश्चिम चितवनको चनौलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रकाश अधिकारीले बताए । ‘पैसाका लागि साथीको सोझोपनको फाइदा उठाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ’ उनले भने ‘रातभर मादक पदार्थ सेवन गराएर विहानपख हत्या भएको हो । हामी अझै अनुसन्धान गर्दै छौँ’।