दमक, १० साउन । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यलाई रिसोर्टमा राखिएको छ ।
निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादमा सोमबार ‘हेड काउन्ट’ को आधारमा निर्णय सुनाउने भएपछि यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखिएको हो । ललितपुरको गोदावरीस्थित रिसोर्टमा ३२ कार्यकारिणी सदस्य रहेको बताइएको छ ।
निर्वाचन आयोगले विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको थियो ।
यही बीच आयोगको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्ष भने सर्वोच्च अदालत पुगेको छ ।
ठाकुरका लागि एक मात्र आशा सर्वोच्च अदालत बनेको छ । अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताउनुभयो ।
जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिर्ता गरेका थिए ।






