
दमक, ११ साउन । मोरङको उर्लाबारीमा फुटबल खेल्दा भएको विवादलाई लिएर एक युवकको हत्या भएको छ । उर्लाबारी नगरपालिका–८ राज घाटमा सोमबार दिउँसो छुरा प्रहार गरी उर्लाबारी–८ का १७ वर्षीय अभिषेक चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
आज दिउँसो १ः१५ बजे ५–६ जनाको समूहले उनीमाथि ढाडलगायत शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला उनीमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका अभिषेकलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पुर्याइएको थियो । तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको डिएसपी श्रेष्ठले बताए । यस्तै, अभिषेकका साथमा रहेका २१ वर्षीय सुशन धामी पनि छुरा प्रहारबाट घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले १८ वर्षीय निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको जनाएको छ ।