नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस पुष्टि भएको छ । अल्फा, डेल्टापछि अर्को भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । उनका अनुसार नेपालमा भेटिएकाे नयाँ भेरियन्ट कप्पा भेरियन्ट हाे ।
नेपालमा अहिले पछिल्लोपटक भेटिएको भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने अध्ययनबाट पाइएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।’
उनका अनुसार जेठको मध्येदेखि असारमसान्तसम्म देशका विभिन्न भागहरुमा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४७ वटा नमुनाहरु भारतमा पठाइएको थियो ।






