
भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक)सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीनजनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट पक्राउ गरेको हो।
पक्राउ पर्ने अन्यमा वडा सदस्य परशुरामका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ तथा ३३ वर्षीय मिलन बानियाँ रहेका प्रहरीले जनाएको छ। पक्राउ परेका वडा सदस्यसहित तीनैजनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।