अनिता न्यौपाने, सदस्य, मौलिक जरोकिलो पार्टी, उर्लावारी नगर समिति, मोरङ्ग
सामाजिक, राजनीतिक र धार्मिक क्षेत्रका बिभिन्न गतिविधिमा अत्यन्त धेरै सुनिएको नाम हो इन्द्र प्रसाद ओली । उहाँ प्रखरवक्ता पनि हुनुहुन्छ । धेरै विषयहरुमा उहाँ विज्ञको रुपमा रहनु भएको छ । यो समाज र राष्ट्रको विविध क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान रहेको छ ।
विक्रम सम्वत २०२३ साल वैसाख ११ गते बुबा मेदिनी प्रसाद ओली र माता नर्वदा देवी ओली का चार भाइ छोरा र १ बहिनी छोरीमध्ये माइलो पुत्रको रुपमा तेह्रथुम जिल्ला आठराई पोखरी गाविस वडा नं ८ टुडिखेलमा उहाँको जन्म भएको हो । बसाइँसराइको क्रममा २०३२ सालमा झापा हल्दिवारी र वि•स• २०५२ सालदेखि भद्रपुर नगरपालिका वडा नं ७ मा बसोबास गर्दै आउनु भएको छ । १० वर्षको उमेरमा जन्मस्थान पहाड छोडेर हिडेका इन्द्र प्रसाद ओलीले २०४० सालमा हल्दिवारी माध्यमिक विद्यालयबाट माध्यमिक तहको अध्ययन पुरा गर्नुभयो भने उच्च शिक्षा काठमाण्डौबाट पुरा गर्नुभयो ।
विद्यार्थी जीवन देखि नै मेहेनती र जेहेन्दार भएकै कारण माध्यमिक तहको अध्ययन गर्दा आफू भन्दा तल्लो कक्षाका बिद्यार्थीहरुलाई पढाउनु हुन्थ्यो जुन गुरुकुलीय पद्धतिमा सिकाइको एउटा महत्वपूर्ण पक्ष पनि रहेको छ ।झापा , हल्दिवारी – ७ मै शान्ति पुर्वप्राथमिक विद्यालय आफ्नै पहलमा सञ्चालन गर्दै २ बर्ष अध्यापन पनि गराउनु भएको थियो । तात्कालिन राजनीतिक परिस्थितिले गाउँ छोड्न बाध्य भएर उहाँ काठमाण्डौ प्रस्थान गर्नुभयो । वि•स• २०४१ साल असार १ गतेबाट नेपाल प्रहरीमा प्रवेश गर्दै नेपाल र नेपालीको सेवामा संलग्न हुनुभयो । । प्रहरी जीवनमा वक्तृत्वकला, नृत्य , अनुसंन्धानमा अव्वल र साहसी ओलीले मनमा इमानदारी र काँधमा जिम्मेवारी बोकेर विभिन्न जिल्लाका चौकी , इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय , अन्चल प्रहरी कार्यालय , लागू औष नियन्त्रण इकाइ कार्यालय , गुल्म र प्रहरी प्रधान कार्यलय समेतमा सेवा गर्ने अवसर प्राप्त गर्नु भएको थियो । प्रहरीमा कुनै समय सादा पोसाकमा प्रहरीको भुमिका , मुद्दाफाँट , राजनीतिक अन्वेषण , संचार , लागू औषध र कार्यालय प्रमुखको भुमिकाको अनुभव प्राप्त गरि आफ्नो काम कर्तव्य पालना गर्दै समय-समयमा पदोन्नति , ग्रेड थप , पुरस्कार , पदक प्राप्त गर्दै आउनु भएको थियो । जागिरे जीवनलाई अध्ययनको रुपमा लिएका ओलीले जहाँ बसे पनि आफ्नो सकारात्मक परिचय स्थापित गर्न सफल हुनु भएको थियै ।
विभिन्न भौगोलिक क्षेत्रका जातजाति , धर्म, वर्ग , लिङ्ग र व्यक्तिहरुसँगको उठ बस, भेटघाट, आवत-जावत गर्दै वृहत्तर अनुभवका साथ २०६२ साल कार्तिक २० गते प्रहरी नायव निरिक्षकसम्म भएर करिव २२ बर्ष नेपाल प्रहरीमा सेवा पुर्याइ स्वैच्छिक अवकाश लिनु भयो ।
२०४६ सालमा झापा, हल्दिवारी- १ गोलधाप निवासी पिता मुक्तिनाथ चुडाल र माता जानुका चुडालकी कान्छी छोरी कृष्ण देवी चुडालका साथमा वैवाहिक जीवन सुरु गरेका ओलीका १ छोरा दिपेन्द्र ओली र एक छोरी दिपा ओली रहेका छन् ।
जागिरे जीवनका क्रममा केही समय लागू औषध नियन्त्रण एवम् अनुसन्धानको क्षेत्रमा काम गरेका ओलीले समाजका विकृति र पारिवारिक समस्याको जडको रुपमा रहेको लागू औषध दुर्ब्यसनलाई नियन्त्रण र न्युनीकरणको क्षेत्रमा कार्य गर्न प्रहरी सेवामा रहँदै अठोट गर्नु भएको कारणले नै अवकाश पछि चेतना नेपाल नामक संस्था वि• स• २०६२ साल मंसिर २० गते स्थापना गरि संस्थागत रुपमा लागू औषध दुर्ब्यसनको बिरुद्धमा सकृय अभियन्ता र प्रशिक्षक भएर विभिन्न जिल्लाका विभिन्न बिद्यालय , समूदायमा सचेतना कार्यक्रम मार्फत चेतना फैलाउन शुरु गर्नु भयो । हाल सम्म यो कार्य निरन्तर चलिरहेको छ ।
त्यसै गरि समाजमा सुधार कार्यक्रम अगाडि बढाइ रहँदा स्वधर्म , संस्कार, संस्कृति , परम्परा , भाषा , लिपि आदिको संरक्षण गर्न जरुरी ठान्दै वहाँले आफ्नो नेतृत्वमा राष्ट्रिय हिन्दु एकता मञ्च- नेपाल नामक धार्मिक एवम् सामाजिक संस्था मिति २०६९ साल वैशाख १५ गते जिल्ला प्रशासन कार्यालय, झापामा विधिवत रुपमा दर्ता गरि वैदिक सनातन धर्महरुको संरक्षण र सम्वर्द्धन गर्दै एक कुशल अभियन्ताको रुपमा हालसम्म सो कार्यलाई निरन्तरता दिदै आउनु भएको छ ।
समाज सुधारका अभियानले मात्र समग्र राज्यप्रणालीका विसङ्गतिहरुलाई परिवर्तन गर्न नसकिने रहेछ भन्ने महसुस गरि वि स २०७५ साल असोज २० गतेबाट जरो र किलो नेपालमै भएको रैथाने शक्ति नामक अभियानको १ नं प्रदेशको संयोजकको भूमिकामा उहाँ जोडिनु भयो । युगद्रष्टा डा• निर्मलमणि अधिकारीज्यूबाट अभिनिर्मित राज्यराष्ट्र सिद्धान्त , सहृदयता दर्शन , स्थितिगत्यात्मक प्रगतिवाद , आधारशिला चतुष्टयलाई आत्मसात गर्दै वि• स• २०७६ साल श्रावण देखि मौलिक जरोकिलो पार्टी १ नं प्रदेश संयोजक हुँदै हाल मौलिक जरोकिलो पार्टी १ नं प्रदेश अध्यक्षको जिम्मेवारी उहाँले वहन गरिरहनु भएको छ ।
(वहाँ को परिचय दिनुको कारण चौतर्फी रुपमा को हुन ओली भनेर अति धेरै महानुभाव ले जिज्ञसा राखेको हुदा प्रेशित गरिएको हो ।वहाँ एक सफल ब्यक्तित्व बहुआयमिक ब्यक्तित्व को परिचय राखौ )






