
दमक , २० साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अबको एक साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने बताएका छन्।
इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन) का पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले आगामी आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी भएको जानकारी दिए।
गभर्नर अधिकारीले सकभर यहि शुक्रबार नभए आगामी आइतबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको बताए। सरकार फेरिएसँगै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नमा ढिलाई भएको छ । अर्थमन्त्री जनार्दशन शर्माले केहि दिन अघि पत्रकार सम्मेलन गरी आफुले मौद्रिक नीति नरोकेको र राष्ट्र बैंक स्वायत्त संस्था भएको प्रष्टिकरण दिएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।
नयाँ सरकारले अध्यादेश मार्फत ल्याएइको बजेट संशोधन गर्ने बताएपछि मौद्रिक नीतिमा ढिलाई भएको थियो ।
गभर्नर अधिकारीले अर्थ मन्त्रालयको हस्तक्षेपका कारण मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको भन्ने विषय निराधार रहेको पनि बताए।