
दमक , २३ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो ।
उहाँका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्याइएको छ ।
यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पुर्याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।
सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरेको हो ।
अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।