
दमक , २३ साउन । कोभिशिल्डको पहिलो खोप लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट दोस्रो मात्रा लगाइने भएको छ ।
स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्माका अनुसार भुटान र जापानबाट ल्याइएको कोभिशिल्डको खोप पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने बताउनु भएको हो । भूटानले दिएको दुई लाख ३० हजार डोज खोप शुक्रबार बिहान काठमाडौं आइसकेको र जापानले दिने १६ लाख डोज खोप शनिबार र आइतबार आउने उहाँले बताउनुभयो ।
जापानबाट आउने कोभिशिल्डको १६ लाख डोज खोप सुनिश्चित भएकाले यही साउन २५ गतेदेखि दोस्रो डोजको अभियान शुरु गर्न लागिएको छ ।
गत फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजारभन्दा बढी ज्येष्ठ नागरिकले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका थिए ।
भारतसँग कोभिशिल्ड खोप खरिद सम्झौता भएपनि भारतले १० लाख डोज खोप नदिएपछि लाखौ नेपाली दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।