दमक , २५ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अबधि एक वर्ष थप गरिएको छ ।
कोभिड १९ संक्रमणका कारण समयमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न नसकिएपछि समय थप भएको विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।
सुरुमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समय भन्दा ६ महिना अगाडि नै सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम गरिएको थियो ।
२०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि त्यसको ६ महिना अगाडी नै काम सक्ने र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको हो ।
कोरोना संक्रमणका कारण घर गएका चिनियाँ मजदूर फर्कन नपाएका, नेपाली मजदूहरु समेत सुरुमा त्रासका कारण काममा रहन नसकेका र बाहिरबाट ल्याउने पर्ने उपकरण समयमा ल्याउन नसक्दा तोकिएको समयमा विमानस्थल निर्मणको काम सम्पन्न हुन नसकेको हो ।
अब २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख मुनाकर्मीले जानकारी दिए । उनका अनुसार विमानस्थल निर्माणको ८१ प्रतिशत काम सकिएको छ ।
काम फटाफट गर्न पाए अबको ६ महिना मै विमानस्थल निर्माणको काम सकिने अवस्था रहेपनि सञ्चालनमा ल्याउन केही अप्ठ्यारा रहेको प्रमुख मुनकर्मीले औल्याएका छन् ।
विमानस्थल पूर्वमा रहेको रिट्ठेपानी डाँडा कटानको काम ठोस रुपमा अगाडि बढ्न सकेको छैन । उक्त डाँडाँमा रहेको निजी जग्गा कटान गरेको भएपनि बनको क्षेत्र रहेकाले रुख काट्ने अनुमति प्राप्त नभएको उनले जानकारी दिए ।
सरकार बन क्षेत्रमा सिमांकन र स्टमेटको काम भएपनि इआइए नगरिएकाले समस्या छ । तत्कालिन पर्यटन मन्त्री भनुभक्त ढकालका पालामा इआइए गर्न समय लाग्ने भन्दै सरकारले विशेष व्यवस्था गरेर छिट्टो प्रक्रिया टुंग्याउने भनिएपनि त्यस सम्बन्धमा काम अगाडि नबढ्दा डाँडा कटानमा अलमल भएको आयोजना प्रमुख मुनकमी बताउँछन् ।
उनका अनुसार उक्त क्षेत्रमा ६ सय रुख काट्नु पर्नेछ । पोखरा क्षेत्रीय विमानस्थललाई आइकाओ मापदण्ड अनुरुपको बनाउन उक्त डाँडालाई ४० मिटर काट्नै पर्छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले चिनियाँ र नेपाली गरी चार सयको हाराहारीमा कामदार खट्टिएका छन् ।
चार सय मध्ये १७० जना चाइनिज बाँकी नेपाली कामदार हुन् । कोरोना संक्रमण अगाडि दैनिक ७ सय जना कामदारले काम गर्ने भएपनि त्यो संख्या घटेको हो ।
चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको सो विमानस्थल कूल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि शुरू भएको र सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो ।
आयोजनका इञ्जिनीयर मिनराज ओझाका अनुसार विमानस्थलमा अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, उपकरण जडान, पाइपलाइन विच्छ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । उनले हालसम्म धावन मार्ग , ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङ्गरसँगै धावन मार्गको लाईट, ट्याक्सी लाइट, एप्रोज लाइटलगायत १४ वटा संरचनाको फिनिसिङ कार्य भइरहेको जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६०० स्क्वायर मिटरमा बन्नेछ । आठ हजार ६०० स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार ६०० स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि विसं २०३२ देखि अधिग्रहण गर्ने कार्य शुरु भएको र जम्मा तीन हजार १०६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो ।
त्यससँग आउटर पेरीफेरी रोड, ग्लाइड पथ, एप्रोज लाइट, मिटरोलोजिकल , घर स्टेशनको लागि जग्गा र घरटहरा अधिग्रहण कार्य भएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अबधि एक वर्ष थप भएपनि निर्माणको कार्य सन्तोषजनक रुपमा अगाडि बढेको छ ।
कोरोना संक्रमण नभएको भए यतिबेला विमानस्थल भित्रका सबै पूर्वाधार तयार भइसकेका हुने थिए ।
तर, विमानस्थल भित्रका सञ्चालन र निर्माण कार्य पुरा भइहाले पनि विमानस्थल निर्माण पछि सञ्चालनमा केही समस्या आउन सक्ने देखिएको छ । पोखरा महानगरपालिकाले विमानस्थल निर्माण सम्पन्न हुनु अगाडि नै ल्याण्डफिल साईड अन्यत्र सारी सक्नुपर्नेमा अहिलेसम्म त्यसमा तदारुकता देखाएको छैन ।
ल्याण्डफिल साइडकै कारण फोहोर खाने चराको ओहोर दोहोरका कारण बर्ड ह्याजडको समस्या आउन सक्ने आयोजना प्रमुख मुनकमी बताउँछन् । निर्माण आयोजनाको तर्फबाट महानगरलाई पटकपटक यस सम्बन्धमा ध्यानाकर्षण गराइएको भएपनि महानगरले सुनुवाई नगरेको उनको गुनासो छ । चरा विज्ञलाई उदृत गर्र्दै उनले चराको बानी परिवर्तन गर्न नै ६ महिना लाग्ने भएपनि अहिलेसम्म ल्याण्डफिल साईडको स्थानान्तरणको प्रक्रया नथालिँदा समस्या छ ।
त्यसैगरी विमानस्थलको बाहिरी भागबाट पानीको उचित निकास नहुँदा विमानस्थल निर्माण भएर सञ्चालनमा अर्को समस्य रहेको प्रमुख मुनकर्मी औल्याउँछन् । उनका अनुसार विमानस्थल बाहिर बर्षतको समयमा बग्ने पानी, भित्री सडक र पृथ्वी राजमार्गको नालाबाट र सिंचाई नहरबाट बगेर आउने पानीको कारण विमानस्थलको पूर्वीभागमा बाढी पहिरोको समस्या उत्पन्न भएको छ ।
यसको निकासका लागि सिंचाई कार्यालयलाई गुहारिएको उनले जानकारी दिए ।






