दमक , ३ भदौ । २०३७ साल देखि दमक नगरपालिकाको स्थापना भएको थियो। पूर्वको सुन्दर नगरपालिका भनेर चिनिने दमकमा विभिन्न जातजाति भाषा धर्मका व्यक्तिहरु बस्दै आइरहेका छन्। २०६८ को जनगणना अनुसार दमकमा ७५,७४३ जनसङ्ख्या पुष्टि भएको थियो तर हाल यो संख्या थुप्रै वृद्धि भै सकेको छ। जनसंख्या साथै भौगोलिक स्थिति पनि निकै ठूलो भएको छ।
साविकमा १९ वटा वार्ड रहेको यो नगरपालिकामा २०७५ सालमा पुनसंरचना हुँदा हाल १० वटा कायम भएका छन् । यस नगरपालिकामा आ.व. २०७३/७४ देखी आ.ब. २०७७/७८ सम्मको औषत आय रु १२,३२,७७,३४०/- रहेको छ ।
नगरपालिकाको पूर्वी सिमानामा तर्फ रतुवा खोला र सो को पूर्व तर्फ झापा जिल्लाको कमल गाँउपालिका रहेको छ । दुवै पालिकाको सिमानामा पर्ने रतुबा नदीको वहावक्षेत्र एउटै भएको समान भौगोलिक अवस्थिति र वजार तथा अन्य सेवा सुविधाका हिसावले दुवै पालिकाहरुका जनतालाई पायक र सुविधाजनक भएका कारण दुवै पालिकाको भौगोलिक क्षेत्रलाई समेटी उपमहानगरपालिका बनाउने प्रस्ताव अघि सारिएको हो । जनचाहना अनुरुप गत विगत वर्षहरुमा नै उपमहानगरपालिका बनाउने पहल गरिएको पनि हो । स्थानीय तहको निर्वाचन निकट भविष्यमा हुन गईरहेकोले दुवै पालिकाहरु समेटी उपमहानगरपालिका बनाउने प्रक्रिया अघि बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरी पठाउने भनि दमक नगरकार्यपालिकाको मिति २०७८/०४/२८ गतेको ९६ औ बैठकबाट निर्णय भएकोले सो सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाईदिनुहुन दमक नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लिखित रुपमा अनुरोध गरेको छ।







