दमक, ५ भदौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले वाग्मती प्रदेशमा एमालेले नयाँ राजनीतिक संस्कारको सुरुवात गरेको बताउनुभएको छ ।
शनिबार नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सम्मानमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुंगेलले पार्टीको अगाडि मुख्यमन्त्री र मन्त्री पद केही नभएको बताउनुभयो । ढुंगेलले पार्टी जोगाउनकै लागि डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजिनामा दिनुभएको बताउनुभयो ।
विभिन्न शक्तिको चलखेलका कारण एमालेलाई कमजोर बनाउने प्रयत्न भएको भएपनि त्यो सम्भव नभएको उहाँले बताउनुभयो । पछिल्लो विकसित घटनाक्रमले एमाले केही कमजोर जस्तो देखिएपनि त्यसलाई पूरा गरिने उहाँले बताउनुभयो । ‘आन्तरिक समस्याको कारण एमाले अहिले केही साँघुरिएको छ, यसलाई चाँडै विशाल बनाइने छ’, ढुंगेलले भन्नुभयो ।
उहाँले डोरमणि पौडेल नेतृत्वको सरकारले वाग्मतीमा विकासको जग बसाएको बताउँदै पौडेलको कार्यकालमा धेरै काम भएको प्रष्ट पार्नुभयो । साँढे तीन वर्षको अवधिमा वाग्मती प्रदेशको विकासले फड्को मारेको उहाँले बताउनुभयो ।
उहाँले नवनियुक्त मुख्यमन्त्री शाक्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । वाग्मती एमालेमा कुनै विवाद नभएको बताउँदै उहाँले सरकार र पार्टीलाई एक बनाएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।






