
दमक, ६ भदौं । किशोर निरौला/ श्रीमान र श्रीमतीबीचको झगडा मिलाउन खोज्दा मोरङको मिक्लाजुङमा एक पुरुषको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङसहितले आक्रमण गरेको दुई दिनपछि लिम्बूको मृत्यु भएको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका रविन र उनकी श्रीमती निरुताबीच झगडा भएको सुनेपछि लिम्बू भदौ ३ गते राति ८ः४० बजेतिर घटनास्थलमा पुगेका थिए । मिलेर बस्न र परिवारमा झगडा नगर्न भनेर सम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू माथि दाउराले कुटपिट गरेको डीएसपी श्रेष्ठको भनाइ छ ।
उहाँका अनुसार पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरिएपछि गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा शनिवार राति ११ः४५ बजेतिर मृत्यु भएको हो । घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिएको जानकारी डीएसपी श्रेष्ठले दिनुभयो ।