अमेरिकी सहयोग परियोजना एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथ ब्रुक्ससहितको टोली काठमाडौं आइपुगेको छ । टोलीले आजैबाट राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । चारदिने भ्रमणका लागि नेपाल आइपुगेको उक्त टोलीले सबैभन्दा पहिले विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने बताइएको छ । ओलीलाई भेट्न उक्त टोली भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ। ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ।
भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ।
नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन्।






