
– प्रकाश दाहाल
म हराएको होइन
म हराएको होइन
डराएको हुँदै होइन
धैर्य गर आमा
सूर्य अलि पर चम्किँदै छ
जाग्दै, जगाउँदै तिम्रो छोरा
नयाँ बाटोमा लम्किँदैछ
सहन तिम्ले नै सिकायौं,
बहन तिमीले नै सिकायौं
लड्न तिमीले नै सिकायौं,
बढ्न तिमीले नै सिकायौं
म एउटा यात्रामा छु
अचम्मको जात्रामा छु,
आफ्नै शास्त्रमा छु
लाज छोप्ने वस्त्रमा छु
स्वयम् शरीरको अस्त्रमा छु
जीवनको सशस्त्रमा छु
यो यात्रा जाग्ने र जगाउनेको हो
भाग्ने र भगाउनेको हो
सड्ने र सडाउनेको हो
गल्ने र गलाउनेको हो
यो यात्रामा मलाई कसैले ढुंगाले हान्दैछन्
कसैले ढुंगा नै मान्दैछन्
बुझ्दै छन्, कोही भाषा सिकाउँछन्
कोही परिभाषा बदल्दैछन् ।
कोही रथका पांग्रा गुडाउँदैछन्
कोही नंगका नंग्रा खिउँदैछन् ।
कोही आफ्नो व्यथा सुनाउँदै छन्
कोही आफ्नो कथा लेखाउँदैछन्
कोही केही बनाउँदैछन्
कोही केही जगाउँदैछन्
कोही केही सजाउँदैछन्
कोही केही लडाउँदैछन् ।
साधुको भेषमा कोही अत्याचार गर्दैछन्
फुलेको केशमा कोही भ्रष्टाचार गर्दैछन् ।
यही यात्रामा कोही राष्ट्रियताको व्यापार गर्दैछन् ।
अनि कोही भने यी सबको नरसंहार खोज्दैछन्
अनि, तिमी त्यहाँ शोकमा हुँदा म यहाँ भोकसँग लड्दैछु ।