
संखुवासभामा सामूहिक हत्याकाण्डका आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । भदौ २१ गते विहान तेजबहादुर कार्कीसहितको उनको परिवारका अन्य ५ जना सदस्यहरुको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लोकबहादुरले योजनावद्ध नभएर आवेगमा आएर हत्या गरेको खुल्न आएको बताएको छ । हत्यामा उनले चिर्पटको प्रयोग गरेको र सो चिर्पट पछि आफ्नो अगेनोमा लगेर बालेको पनि प्रहरीले जनाएको छ । प्रदेश नम्बर १ प्रहरीका कार्यालयका प्रमुख डीआइजी अरुणकुमार बिसीले घटनामा एउटै हतियारको प्रयोग भएको पाइएको बताएका छन् ।

सुरुमा उनले तेजबहादुरको हत्या गरेको र त्यसपछि मात्रै परिवारका अन्य सदस्यहरुको हत्या गरेको बताएका छन् । उनले भने, ‘सुरुमा तेजबहादुरलाई आक्रमण गरे । बारम्बार चिर्पट प्रहार भएपछि उनको मृत्यु भयो । पछि महिलाहरु आत्तिएर कुनै प्रतिक्रिया जनाउन सकेनन् । र उनीहरुलाई पनि चिर्पटले हानियो । त्यसपछि नाबालक र अन्तिममा घरभित्र गएर हजुरआमाको टाउको भित्तामा ठोक्काएर हत्या गरेको देखिन्छ ।’
आक्रमणपछि तेजबहादुरले गुहारगुहार भन्दै चिच्याएको सुनेर श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलतर्फ गएको र उनीहरूलाई पनि लोकबहादुरले चिर्पटले हानेका थिए । पछि दुई छोराछोरीलाई पनि लोकबहादुरले आक्रमण गरेको बताइएको छ । काकालाई मात्र मार्ने लक्ष्य भए पनि अरूले देखेकोले सबैलाई हत्या गरेको उनले बयान दिएका छन् ।
तेजबहादुरको हत्या गरेपछि अन्य सदस्यहरुलाई लखेटी लखेटीमा मारेको अवस्था रहेको प्रहरीले जनाएको छ । उनले भने, ‘पछाडी नाबालक बच्चापनि घरबाट निस्केको अवस्थामा बच्चलाई पनि लखेटी लखेटी मारेको अवस्था छ । घटनास्थलबाट ४० मिटरको दुरीमा रहेको अवस्थामा घरभित्र रहेको अवस्था छ । हजुरआमा नाता पर्ने कुडो पकाइरहेको अवस्थामा त्यही कपाल समातेर टाउको भित्तामा बजारेर हत्या गरेको देखियो ।’
मादी नगरपालिका–१, उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाति दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । घटनामा परिवारका सातजनामध्ये आँखा कम देख्ने र कम सुन्ने बौद्धमान मात्र जीवित छन् ।

