jQuery(document).ready(function($){ //
});

मुस्ताङस्थित हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिनुभयो । 

“स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोना विरुद्धको खोप लगाएकोमध्ये कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “विदेशीका लागि सात दिनभित्रको पिसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।” 

बडादशैँको सोह्र श्रद्धामा कागबेनीमा पिण्ड दान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् ।  कोरोना सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो ।  

अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई विश्व प्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दबाब परेको थियो । 

निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ । मुक्तिनाथ र पर्यटकीय स्थल खुलाएपछि सडक र हवाई मार्ग भएर मुस्ताङ जानेहरूको चहलपहल बढेको छ । कोरोनाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन् ।

समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मानिन्छ । शालिग्राम भगवान्को लागि प्रसिद्ध मुक्तिनाथ दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ । शालिग्राम शिलालाई भगवान् विष्णुको रूप मानेर पूजा गरिन्छ ।

यसै ठाउँको बाटो भएर बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारका लागि तिब्बत गएकाले यसलाई बौद्ध धर्मावलम्बीहरूको पनि तीर्थस्थल मानिन्छ ।

१०८ धारामा स्नान र मुक्तिनाथ मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने चलन छ । मन्दिर परिसरमा गुम्बा पनि छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय