।। भोजराज घिमिरे ।। मोरङ्ग ।।
मोरङको बुढीगंगा गाउँपालिका वडा ४ हात्तिमुढास्थित एक बालकको रहस्य महे मृत्युको घटनाको अनुसन्धान गरि सत्यतथ्य सार्वजनिक गर्न माग राख्दै निरन्तर प्रर्दशन गरेका छन् ।
१४ वर्षिय निश्चल रायको रहस्यमहे तरिकाले मृत्यु भएको घटनामा प्रहरीले गम्भरीता पूर्वक अनुसन्धान नगरेको भन्दै बुढीगगंगाका स्थानियले आज पनि प्रर्दशन गरेका हुन् । उनीहरुले विराटनगरको सनसारी माइस्थानदेखि निकालिएको यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडी घटनाको अनुसन्धान गरि दोषीलाई कारबाही र सत्यतथ्य सार्वजनिक गर्न माग राख्दै प्रर्दशनमा उत्रिए । उनीहरुले हत्यारालाई कारवाही गर, घटनाको सत्यतथ्य सार्वजनिक गर, पोस्माटर रिपोर्ट सार्वजनिक गरललगायतको प्लेकार्ट सहित प्रर्दशनमा उत्रिएका थिए ।कात्तिक २२ गते घर नजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षे बालक निश्चलको २४ गते विहान सिंघिया खोलामा शव फेला परेको थियो । हराएपछि पटक पटक त्यस ठाउँमा खोजी गरिएको भएपनि फेला नपरेका बालक निश्चलको शव २४ गते विहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो । हराएकै दिन साँझसम्म बालक फेला नपरेपछि प्रहरीलाई खबर गरिएको भएपनि प्रहरीले खोजीका लागि आवश्यक गम्भीरता नदेखाएका कारण अपहरणमा परेका बालकको हत्या भएको आशंका परिवारले व्यक्त गर्दै आएका छन् ।
बालकको हत्या भएको १५ दिन बितिसक्दा पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु र घटनाको यथार्थ पत्ता लगाउन असफल भएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले छिटोभन्दा छिटो बालक मृत्युको कारण पत्ता लगाउन र अभियुक्तहरुलाई पक्राउ गर्न दबाव दिन थालेका छन् । त्यसै क्रममा स्थानीय संघर्ष समितिले यसअघि बिहीबार निमुवामा प्रदर्शन गरी इलाका प्रहरी कार्यालय नेमुवा अगाडि राजमार्गमा चक्काजाम पनि गरेका थिए । उनीहरुले घटना छानविन गर्न प्रहरी गम्भीर नबन्दा अभियुक्तहरु उम्कने र प्रमाण नष्ट हुने सम्भावना बढेको भन्दै पाँच दिन भित्र हत्याको सम्पूर्ण विवरण सार्वजनिक नभए थप दवावमूलक संघर्ष बढाउने चेतावनी दिएका छन् ।
बालक हत्या भएको दुई साता बितिसक्दासम्म घटनाको अनुसन्धान गर्दै आएको प्रहरीले पोष्टमार्टम र भिसेरा लगायत अन्य कुनैपनि रिपोर्टहरु सार्वजनिक गरेकको छैन । त्यसले पीडितहरुलाई कतै अनुसन्धान प्रभावित भएको त हैन भन्ने आशंका बढाइदिएको उनीहरुको गुनासो छ । प्रहरीले भने भिसेरा रिपोर्ट आउनासाथ पोष्टमार्टमको रिपोर्टपनि प्राप्त हुने र त्यसबाट मृत्युको कारण स्पष्ट हुने भन्दै रिपोर्ट पर्खेर बसेको जनाएको छ । पीडित परिवारले भने रिपोर्ट पर्खिदापर्खिदै सबै प्रमाण नष्ट भई हत्यालाई सामान्य मृत्युमा परिणत गर्ने खेल भएको आशंका गरेको छ ।
हत्यामा संलग्न हुनसक्ने व्यक्तिहरुको बारेमा प्रहरी जानकार भएपनि उनीहरुमाथि अनुसन्धान केन्द्रीत नभएको भन्दै पीडित परिवारले सबै पक्षसँग दवावका लागि सहयोगको आव्हान गरेको छ ।







