झापा गौरादह नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल पक्राउ परेका छन् । अध्यक्ष खरेललाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो ।
उनीहरुले झापाको विर्तामोड स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए । झापा प्रहरीका अनुसार सो जग्गा किर्ते गरेर विक्रि गर्ने मुख्य नाइके गौरीगञ्ज-१ कुन्जिबारीका बलराम विश्वकर्मा (सुसिल) लगायत १० जना यस अघि नै पक्राउ परिसकेका छन् ।
गत बैशाख ९ गते नै यस काण्डमा १० जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको थियो भने खरेल र अधिकारी भने त्यो बेला पक्राउ पर्न सकेका थिएनन् । उनीहरुलाई संगठित अपराध , सरकारी छाप किर्ते , ठगी लगायतका मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जग्गा विक्रिमा कागजात किर्ते बनाउन वडाध्यक्ष खरेलले समेत सहयोग गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको छ । वडाध्यक्ष खरेलले आफुलाई झुक्याएर कागजातमा हस्ताक्षर गर्न लगाएको दावी गर्दै आएका छन् ।
यस्तै, प्रहरीले मालपोत अधिकृत चेतन अधिकारी समेतलाई पक्राउ गरेको छ भने एक कर्मचारी हरि तिम्सिना अझै फरार छन् । उनीहरुलाई म्याद थप गरि बयान लिने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।






