
विद्वान अर्थशास्त्री रे डेलियो भन्छन् , “हरेक साम्राज्यको चक्र हुन्छ र सो चक्र सो साम्राज्यको अर्थतन्त्रको चक्रसँग जोडिएको हुन्छ , डच साम्राज्यको समय सिद्धियो , बेलायती साम्राज्यको समय पनि सिद्धियो र अब अमेरिकी साम्राज्यको चक्र फेरिएर चिनियाँ साम्राज्यको चक्र सुरु हुँदै छ । उनी भन्छन् , कुनै पनि साम्राज्यको उदय र अस्तसँग युद्ध या यस्तै ठूलो वैश्विक घटना जोडिएको हुन्छ । दोस्रो विश्वयुद्धले अमेरिकी साम्राज्यको उदय गराए जस्तै ।
अब प्रश्न उठ्न सक्छ के विश्व शक्ति फेरिने समय आएको हो ? अर्थशास्त्री रे डेलियो भन्छन् , कुनै पनि विश्व शक्ति कहिले अस्ताउँछ भन्नू एकदमै गाह्रो कुरा हो तर उकालो यात्रामा छ या ओरालो यात्रामा भनेर भन्न चाहिँ सकिन्छ । यसरी हेर्दा अहिलेको महाशक्ति अमेरिकी साम्राज्यको चक्र ओरालो यात्रामा नै छ भने चिनियाँ साम्राज्य उकाली चड्दै छ । आफू स्वयम् को कारण ओरालो यात्रामा भए पनि वैश्विक अर्थतन्त्र अमेरिकी मुट्ठीमा भएकाले अमेरिकी साम्राज्य ढाल्न भने त्यति सजिलो पक्कै छैन । संसारका प्राय देशहरु व्यापार गर्नका लागि अमेरिकी डलर मात्रै प्रयोग गर्छन् । जसले गर्दा अमेरिकी डलरको माग सधैं बलियो हुन्छ र अमेरिकी डलर सधैँ बलियो हुन्छ । अहिले श्रीलंकाले भोगे जस्तो नियती भोग्नु पर्ने हुन सक्छ तर अमेरिका स्वयम् ले भने यस्तो अवस्था कहिल्यै भोग्नु पर्दैन ।
अमेरिकी डलरको दबदबाले अन्य देशहरु माथी भने अन्याय भै रहेको छ । त्यसैले चीन, रुस लगायतका देशहरु यो निर्भरता हटाउन चाहन्छन् भनिन्छ । हालको युक्रेन संकटमा अमेरिकाले रुस माथी प्रतिबन्ध लगाएर रुससँग भएको ६ सय मिलियन डलर बराबरको डलर सञ्चितिलाई कागज बनाईदियो । जसले गर्दा अब रुसले वैदेशिक व्यापारमा संकट भोग्नु पर्ने छ । यो घटनाले संसारका अन्य देशलाई पनि झक्झक्याएको हुनु पर्छ र केही न केही डलरको विकल्पको तयारीमा लाग्दै गर्नु पर्ने रहेछ भनेर ज्ञान दिएको हुनु पर्छ । भारतलाई अमेरिकाले प्रतिबन्ध लगाउँदा भारतले इरानसँग भारुमै कारोबार गर्ने सम्झौता गरेको थियो ।कोरोना कालमा चीनको केन्द्रिय बैंकले आफ्नो सुन भन्डार बढाएको खबर आएको थियो । यसले भारतले पनि परिआएमा डलरको विकल्प सोच्न सक्छ र चीन पनि डलर भन्दा सुनलाई नै विदेशी व्यापारको माध्यम बनाउन चाहन्छ कि जस्तो देखिएको छ ।
रे डेलियो भन्छन् , “इतिहासले भन्छ कुनै पनि साम्राज्यको मुद्राले अन्तर्राष्ट्रिय व्यापारको लागि र देशहरुले भण्डारण गर्नका लागि विश्वास गुमायो भने त्यो नै सो साम्राज्य गिर्ने पहिलो बलियो लक्षण हो” के डलरको विकल्पमा अन्य विकल्प प्रयोग गर्ने बारेमा विश्वले पाइला चाल्ला ? युएस डलरलाई देशहरुले विदेशी मुद्रा सञ्चितिमा नराख्नेगरी या विकल्प सोच्ने गरि विश्वास गुमाउला ?
के विश्व शक्ति समिकरण पूर्व तिर सर्ला ? युक्रेन रुस युद्धको नतिजाले पनि भविष्यको समिकरण निर्धारण गर्ने छ ।