
✍️ विष्णु निश्चल
सर्वहारा, गरिबको जीवन बदल्ने ,
भन्यौ र पो जोसिए,
अनि लागे, तिम्रो भाषणको पछि
र उचाले
हसिया हतौडाको झण्डा ।
दिनको रोजिरोटी छाडेर
च्यात्तिएको कमिज र टोपी लगाएर
च्यतिएकै चोली लगाएर
काखे बालक च्यप्दै, टंटलापूर घाममा
निधार पुच्दै,ओठमुख सुकाएर
तिमीलाई सिंहदरबार छिराए।
गाँस,बास र कपासको जोहो होलाकि, भनी ।
के बनायो सिंहदरबारले तिमी लाई
एक महान जादुगर, कि चटके !!
पानी धारा छैन बस्तिमा,
पानी जहाजको कुरा गर्ने बनायो
गोरेटो छैन गाउमा,
रेलका कुरा गर्ने बनायो ।।
भुईमान्छेहरुको गाँस खोसेर
उठाएको कर बाट
आहा
तिमीले बनाएको भ्यू टावरले
तिम्रो सिर ,सगरमाथा झै उचो भाको होला।
तर
भुईमान्छेको दिनचर्या
झन झन दयनिय भको कस्ले देख्ने??
के तिमीले बनाएको भ्यु टावर बाट
अन्न नफलेर,
मुखमा माड लाउनका लागि
गिठ्ठा भ्याकुर खोज्न
जंगल पसेका
भुईमान्छेको, दर्दानक
दिनचर्या हेर्ने हो?,महोदय