
वर्ष २०१९ को फिफा क्लब विश्वकप फुटबलको उपाधि इंग्लिस क्लब लिभपुलले जितेको छ । गत राति कतारको खालिफा इन्टरनेसनल स्टेडियममा भएको फाइनल खेलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लामेन्गोमाथि १–० संघर्षपूर्ण जित निकाल्दै उपाधि जितेको हो ।
यसपटक फाइनल खेलमा लिभरपुल युरोपियन च्याम्पियन्स लिगको विजेताको हैसियतमा थियो भने फ्लामेन्गो दक्षिण अमेरिकी क्षेत्रको च्याम्पियनका रूपमा खेलेको थियो ।
निकै प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । जसमा लिभरपुलका लागि १ मात्रै विजयी गोल ब्राजिलियन खेलाडी रोवर्ट फर्मिन्होले गरे ।
उनले थपिएको समयको नवौं मिनेटमा बक्स भित्रबाट फ्लामेन्गोका डिफेन्डर र गोलकिपलाई सजिलै बिट गर्दै गोल गरेका थिए । सो गोलमा साडियो मानेले असिस्ट गरेका थिए ।
सो गोलपछि फ्लामेन्गो खेलमा फर्किन नसकेपछि खेल लिभरपुलले १–० ले जित्यो । यससँगै लिभरपुलले यस सिजनको पहिलो उपाधि जितको छ । गत वर्ष च्याम्पियन्स लिग जितेको हैसियतमा लिभरपुल क्लब विश्वकपमा सहभागी थियो ।