कृषि वनस्पतिक परिभाषामा बीउलाई परिपक्क बीज अण्ड भनिन्छ। बीउ एक जीवित वस्तु हो र यसमा जीवितपना भई खेतमा रोप्दा राम्रो गतिमा ,समान रुपले उम्रन सक्ने शक्ति हुनुपर्दछ जसको कारण स्वास्थ्य विरुवाको विकास हुन्छ।
गुणस्तरीय बीउ बैज्ञानिक रुपले उत्पादन गरेको( बीउ प्रमाणिकरण संस्थाको रेखदेखमा) तथा उच्च वंशानुगत वा जातीय शुद्धता,शारीरिक गुणस्तर ,भौतिक गुणस्तर तथा स्वास्थ्य सम्बन्धि गुणस्तर भएको बीउलाई भनिन्छ। बीउको वंशानुगत वा जातीय गुणस्तर अन्तर्गत वंशानुगत गुण तथा जातीय विकृती नभएको बीउ पर्दछ तथा शारीरिक गुणस्तर अन्तर्गत उम्रने शक्ति तथा गति अधिक्तम भएको,पुष्ट चम्किलो दाना भएको तथा उचित चिस्यान प्रतिशतमा सुकाएको बीउ पर्दछ।त्यसैगरी भौतिक गुणस्तर अन्तर्गत सफा प्रशोधित बीउ,निष्क्रिय पदार्थ नभएको,झारपातको बीउ नभएको,बेजात,बेकिसिमको बीउ नभएको तथा कीरा नलागेको बीउ पर्दछ भने स्वास्थ्य सम्बन्धी गुणस्तर अन्तर्गत कुनै प्रकारको रोग नलागेको तथा औषधीपचारीत बीउ पर्दछ।
गुणस्तरीय बीउलाई खाद्य पर्याप्तता तथा खाद्य सुरक्षाको निम्ति आधारभूत सामग्रीको रुपमा लिन सकिन्छ।मल,जल,श्रम तथा बाली संरक्षण विषादीहरुको महत्त्व भएता पनि बीउ नै गुणस्तरीय नभएको खण्डमा सम्पुर्ण बालीनै खेर जान सक्छ।उन्नत गुणस्तरीय बीउको प्रयोग नगरेका कारण उत्पादन घटनुका साथै परीक्षण नगरेको तथा स्रोत थाहा नभएको बीउको प्रयोगबाट बालीनै सखाप भएका कयौं उदाहरण हामीसामु छ। गुणस्तरीय बीउको प्रगोगबाट मात्रै १० देखि १५ प्रतिशत उत्पादन वृद्धि हुनुको साथै गुणस्तरीय बीउको साथमा उपयुक्त आवश्यक मल,जल,बोट बिरुवा संरक्षण औषधि ,अन्य सामग्री तथा प्रविधीको व्यवस्था हुन सकेमा उत्पादन दोब्बर बढाउन सकिन्छ। गुणस्तरीय बीउहरुले मल,जलको प्रयोगको सकरात्मक प्रतिक्रिया देखाइ उत्पादनमा वृद्धि ल्याउने भएकाले गुणस्तरीय बीउको प्रयोगले अन्य कृषि सामाग्रीहरुको प्रयोगमा प्रोत्साहन ल्याइ हाम्रो जस्तो कृषिमा ६५ प्रतिशत निर्भर भएको देशमा यसको प्रयोगद्वारा खाद्य आत्मनिर्भरता हुनुका साथै खाद्यन्न निर्यात गर्न सकिन्छ ।हाम्रो गाउँघर तिर गुणस्तरीय बीउ अलिक महँगो भयो भन्ने सुनीएता पनि समग्रमा हेर्दा गुणस्तरीय बीउ सस्तो पर्न जान्छ किनभने यसको प्रगोग गर्दा स्थानिय बीउको भन्दा कम दरमा प्रयोग गर्न सकिन्छ तथा उत्पादनमा अत्याधिक वृद्धि हुनुका साथै उत्पादन एकनासको हुनेहुँदा बजार मुल्यपनि राम्रो पाउन सकिन्छ। गुणस्तरीय बीउमा रोग किराको आक्रमणबाट सुरक्षित राख्न उपचारित हुनुका साथै बीउमा बेजात,अन्य बाली तथा झारपातको मात्रा न्युनतम हुने हुँदा झारपात र अन्य बाली आदि उखेल्न लाग्ने श्रम तथा खर्चमा पनि कम हुन जान्छ।
(संयम दाहाल,कृषि बिद्यार्थी,लमजुङ क्याम्पस )