
सर्वोच्च अदालतको परमादेशलाई लत्याएर पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) द्वारा भइरहेको लाश गाड्ने र पक्कि चिहान बनाउने कार्यप्रति सनातन धर्म महासङ्घ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै श्लेषमान्तक वनमा खुलेआम दिसापिसाब, अनैतिक क्रियाकलाप, प्लाष्टिकजन्य फोहोर, वेवारिसे शव, रक्सीका बोतलहरू फेला परेको भन्दै महासंघले पशुपति विकास कोषको लापरवाहीमाथि प्रश्न गरेको छ।
महासचिव अभिषेक जोशीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ – पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू तत्काल सावधान भई सनातन हिन्दू धर्मावलम्बीहरूको भावना अनुसार आवश्यक कारबाही गर्न अनुरोध गर्दछौँ । यदि विकास कोष यस विषयमा संवेदनशील भएन भने भविष्यमा हुने धार्मिक द्वन्द्वको जवाफदेही विकास कोषका पदाधिकारीहरू पनि हुनुपर्ने अवगत गराउन चाहन्छौँ । कुनै पनि अप्रिय घटना भएको खण्डमा कोष नै जिम्मेवार हुने जानकारी पनि गराउन चाहन्छौँ ।
श्लेषमान्तक वनमा भेटिएका चिहानहरुको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रेस विज्ञप्ति
संसारभरिकै सनातन हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर रहेको एवं विश्व सम्पदा सूचीमा पनि रहेको पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) को लाश गाड्ने र पक्की चिहान बनाउने गरिरहेको अवस्थाप्रति सनातन धर्म महासङ्घ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । इसाइहरूको उक्त काम गैरकानुनी, आपराधिक, अवाञ्छित एवं हिन्दू समुदायको विरुद्धमा आक्रमणको द्योतक हो ।
सर्वाेच्च अदालतको वि.सं. २०६८/२/१ को परमादेश अनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीहरूलाई लाश गाड्न निषेध गरिएको छ । तर, आजपर्यन्त त्यहाँ इसाइ धर्मावलम्बीहरूबाट लाश गाड्ने र पक्की चिहान बनाउने काम रोकिएको छैन । वि.सं. २०७७/१२/२६ मा हामीले श्लेषमान्तक वन निरिक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेका छन् । सर्वाेच्च अदालतको फैसलालाई अटेर गरी नै इसाइहरूले पशुपति क्षेत्रमा अतिक्रमण गर्नु गैरकानुनी र सर्वाेच्च अदालतको मानहानी पनि हो । पशुपति क्षेत्रमा इसाइहरूद्वारा भइरहेको अतिक्रमण हिन्दू आस्थामाथिको बलमिच्याइँ हो र यसलाई उनीहरूले गरिरहेको हिन्दू समुदायको विरुद्धमा आक्रमण भनेर बुझ्नु पर्ने हुन्छ । त्यस्ता अवाञ्छित एवं अतिक्रमणकारी क्रियाकलापले भविष्यमा धार्मिक द्वन्द्व निम्त्याउने अवस्था देखिएको छ ।
यसरी सर्वाेच्च अदालतको आदेश, पशुपति क्षेत्र विकास कोष ऐन २०४४ तथा नेपालको संविधानको खुलेआम उल्लङ्घन भइरहँदा पशुपति क्षेत्र विकास कोषलाई त्यस्ता गैरकानुनी, आपराधिक, अवाञ्छित एवं आक्रमणकारी गतिविधिहरू बारे जानकारी छ कि छैन ? साथै, श्लेषमान्तक वनको संरक्षण, संवर्धन तथा सरसफाइ पनि हुन नसकेको देखिन्छ । वनमा खुलेआम दिसापिसाब, अनैतिक क्रियाकलाप, प्लाष्टिकजन्य फोहोर, वेवारिसे शव, रक्सीका बोतलहरू फेला परेका छन् । धार्मिक स्थलमा यस्तो लापरवाही किन ? पशुपतिनाथ जस्तो विश्वविख्यात धार्मिक स्थल सबै प्रकारले सुरक्षित, मर्यादित र सफासुग्घर हुनुपर्छ ।
पशुपतिनाथ हिन्दूहरूको पवित्र तीर्थस्थलका साथसाथै विश्व सम्पदा सूचीमा परेको सम्पदा पनि हो । सारा संसारमा परिचित यस धार्मिक स्थलको सौन्दर्य र मौलिकतामा खलल पार्ने काम कुनै पनि पक्षबाट नहोस् भन्ने हाम्रो अनुरोध रहेको छ र पशुपति क्षेत्र विकास कोषले पनि यस विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नु पर्छ । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू तत्काल सावधान भई सनातन हिन्दू धर्मावलम्बीहरूको भावना अनुसार आवश्यक कारबाही गर्न अनुरोध गर्दछौँ । यदि विकास कोष यस विषयमा संवेदनशील भएन भने भविष्यमा हुने धार्मिक द्वन्द्वको जवाफदेही विकास कोषका पदाधिकारीहरू पनि हुनुपर्ने अवगत गराउन चाहन्छौँ । कुनै पनि अप्रिय घटना भएको खण्डमा कोष नै जिम्मेवार हुने जानकारी पनि गराउन चाहन्छौँ ।
अभिषेक जोशी
महासचिव
