
काठमाडौं, मंसिर २२
नेपाल आफ्नो भूमिमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल प्रवेश गरेको छ । आज आइतार भएको लिग चरणको निर्णायक खेलमा पाहुना टोली बंगलादेशलाई १–० ले हराउँदै नेपाल स्वर्ण पदक नजिक पुगेको हो । नेपालका लागि १ मात्रै विजयी गोल सुनील बलले गरे ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ सुरु भएको खेलको पहिलो हाफमा नेपालले बनाएको १–० को अग्रता नै जितका लागि काफी बन्यो । फाइनल पुग्नका लागि आजको निर्णायक खेलमा कम्तीमा बराबरी वा जितको लक्ष्य लिएर मैदान उत्रिएको नेपालका लागि खेलको ११औं मिनेटमै सुनील बलले गोल गरेका थिए । उनले कप्तान सुजल श्रेष्ठको पासमा बक्सभित्रबाट सहजै गोल गरेका थिए ।
यता, फाइनल पुग्न नेपालविरुद्ध स्पष्ट जितको लक्ष्य लिएर उत्रेको बंगलादेशले दोस्रो हाफमा गोलका लागि ठूलै संघर्ष गरे पनि गोल गर्न नसक्दा उपाधिको बाटो घरेलु टोली नेपाललाई सुम्पियो । र, खेल नेपालले जित्यो ।
नेपालका कप्तान सुजल श्रेष्ठ दोस्रो हाफमा घाइते भएर मैदान छाडेका थिए । उनलाई स्ट्रेचरमा राखेर मैदानबाट निकालिएको थियो । उनको स्थानमा सेसेहाङ आङ्देम्बेलाई मैदान छिराइएको थियो ।
खेलको अन्तिम समयमा नेपाल र बंगलादेशका खेलाडीबीचको फउललाई लिएर बंगाली खेलाडीले रेफ्रीमाथि हातपातको प्रयास गरेपछि केहीबेर तनाव सिर्जना भएको थियो । सोहीक्रममा बंगलादेशका एक खेलाडीले रातो कार्डसमेत पाए । रेफ्रीमाथि हातपात गर्ने बंगाली खेलाडीमाथि रेफ्रीले खेलको प्रतिवेदन बुझाएका आधारमा थप कारबाही हुनेछ ।
यससँगै नेपालले लिग रचणमा ४ खेलबाट कूल १० अंक जोड्यो । दोस्रो स्थानमा रहेर फाइनल पुगेको भुटानले ९ अंक बनायो । बंगलादेश ४ अंकसहित तेस्रो स्थानमा मात्रै रह्यो ।
अब नेपालले स्वर्ण पदकका लागि फाइनलमा भुटानको सामना गर्नेछ । फाइनल खेल मंगलबार दशरथ रंगशालामै हुनेछ । नेपालका लागि अब लगातार दोस्रो वर्ष साग फुटबलको स्वर्ण जित्ने अवसर छ । नेपालले सन् २०१६ मा भारतलाई उसकै भूमिमा हराएर स्वर्ण पदक जितेको थियो ।