
पहिलोपटक साग महिला फुटबलको स्वर्ण जितेर इतिहास रच्ने नेपालको सपना तुहिएको छ । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनल खेलमा चीर प्रतिद्वन्द्वी भारत नेपालका लागि पुनः तगारो बन्यो ।
आज पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाल आफ्नो भूमिमा आगन्तुक टोली भारतसँग ०–२ ले पराजित भयो । हजारौं घरेलु समर्थकको साथ पाएको नेपाललाई भारतले सहजै हराउन सफल भयो ।
भारतले घरेलु टोलीविरुद्ध खेलको १८औं मिनेटमै अग्रता लिएको थियो । सो गोल बालादेवीले गरेकी थिइन् । सोही गोलको मदतमा भारतले पहिलो हाफमा नेपालविरुद्ध ०–१ को अग्रता बनायो ।
त्यसपछि दोस्रो हाफमा पनि भारत खेलमा हाबी भयो । जहाँ भारतका लागि बालादेवीले दोस्रो हाफ सुरु हुनासाथ व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल ०–२ ले पछि परेको थियो । त्यसपछि बाँकी समयमा नेपालले गोल फर्काउन सकेन । र, खेल भारतले जित्यो ।
यससँगै भारतले साग महिला फुटबलको स्वर्ण पदक जितेको छ । नेपाल भने रजत पदकमै चित्त बुझाउन बाध्य भएको छ ।