
नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको उपाधिका लागि मंगलबार घरेलु नेपाल र भुटान भिड्दैछन् । खेल दशरथ रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सो खेलको टिकट भने २४ घन्टाअघि नै सकिएको छ । फाइनल खेलका लागि बिक्रीमा राखिएका सबै टिकट अनलाइनमार्फत् बिक्री भइसकेको हो ।
फाइनल खेलका लागि सर्वसाधारणतर्फ १ हजार र भिआइपीतर्फ २ हजार रुपैयाँ टिकट मूल्य कायम गरिएको थियो । तर, टिकट बिक्रीको जिम्मा लिएको ‘ई–सेवा’ ले सोमबार अपराह्नबाटै खेलका सबै टिकट बिक्री भइसकेको ‘ई–सेवा’ले जनाएको छ ।
फाइनल खेलका लागि कूल १४ हजार टिकट बिक्रीमा राखिएको थियो । तर, समर्थकको ओइरो लागेपछि फाइनल खेलको सबै टिकट २४ घन्टाअघि नै अनलाइनमार्फत् बिक्री भएको हो ।
दशरंथ रंगशालाको कूल दर्शक क्षमता १५ हजार छ । तर, अनलाइनमार्फत् भने १४ हजार टिकट मात्रै बिक्रीमा राखिएको थियो ।