
स्पेनिस बार्सिलोनाका युवा स्टार अन्सु फातीले युरोपियन च्याम्पियन्स लिग फुटबलमा दुर्लभ कीर्तिमान बनाएका छन् । १८ वर्षीय फाती अब यस प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । गत राति समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले इटालियन इन्टर मिलानलाई उसकै घरमा १–२ ले हराउँदा फातीले टिमका लागि विजयी गोल गरेका थिए ।
खेलको ८५औं मिनेटमा कार्लेस पेरेजको स्थानमा मैदान छिरेका फातीले ८६औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गरेका थिए । सो गोलले उनका नाममा च्याम्पियन्स लिगको इतिहासमै नयाँ रेकर्ड लेखायो ।
फातीले आफ्नो उमेर ठीक १७ वर्ष ४० दिन पुग्दा च्याम्पियन्स लिगमा गोल गरे । यसको अर्थ यस प्रतियोगितामा फाती सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन् । यसअघि फातीले ला लिगामा समेत कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड बनाइसकेका छन् ।
फातीले सन् १९९७ मा ओलम्पियाकोसका पेटर ओफ्री–क्वाएका नाममा रहेको कम उमेरको रेकर्ड भंग गरेका हुन् । पेटरले १७ वर्ष १९५ दिन उमेर पुग्दा च्याम्पियन्स लिगमा पहिलो गोल गरेका थिए, जुन आजसम्म कसैले तोड्न सकेको थिएन । तर, अब फातीले सो रेकर्ड भंग गरेका छन् ।
त्यसपछि तेस्रो स्थानमा हाल इंग्लिस क्लब चेल्सीबाट खेलिरहेका क्रोएसियन खेलाडी माटेओ कोभासिचका नाममा रेकर्ड छ । रियल मड्रिडका पूर्वखेलाडी उनले १७ वर्ष २१६ दिनका दिन च्याम्पियन्स लिगमा गोल गरेका थिए । यो सबै खेलाडीको तथ्यांक समूह चरणमा गरेको गोलको मात्रै हो ।