
सुपरस्टार क्रिस्टियानो रोनाल्डोका नाममा युरोपियन च्याम्पियन्स लिग फुटबलमा नयाँ रेकर्ड बनेको छ । गत राति समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर लेभरकुसेनविरुद्ध १ गोल गरेपछि पोर्चुगिज फरवार्डका नाममा नयाँ रेकर्ड बनेको हो ।
३४ वर्षीय रोनाल्डो अब च्याम्पियन्स लिग फुटबलको इतिहासमै कुनै पनि एकै देशका क्लबविरुरुद्ध सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले यस प्रतियोगितामा जर्मनीका विभिन्न क्लबविरुद्ध कूल २६ खेल खेलेका छन् । र, सोक्रममा उनले कूल २८ गोल गरेका छन्, जुन अन्य खेलाडीको भन्दा सबैभन्दा बढी हो ।
च्याम्पियन्स लिगको इतिहासमा कुनै एक देशका क्लबविरुद्ध सबैभन्दा धेरै गोल गर्ने रेकर्ड अब रोनाल्डोका नाममा रहनेछ । रोनाल्डोले च्याम्पियन्स लिग खेल्ने जर्मनीका विभिन्न क्लबविरुद्ध हालसम्म २८ गोल गरेका छन् ।
जारी सिजन रोनाल्डोले यस प्रतियोगितामा मात्रै २ गोल गरेका छन् । रोनाल्डोले यस प्रतियोगितामा हालसम्म कूल १२८ गोल गरेका छन् । उनी च्याम्पियन्स लिगको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी हुन् । सोक्रममा उनले १६८ खेल खेलेका छन् । रोनाल्डो अब १३० गोलको आँकडबाट मात्रै २ गोलले टाढा छन् ।