फुटबलर हरि खड्का नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको बिहीबारको इजलासले खड्काले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।
प्रविणता प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको थियो ।
खड्काले माध्यमिक शिक्षा परिषद् वाराणशी, उत्तर प्रदेशबाट जारी भएको आईएको झूटो प्रमाणपत्र पेश गरी त्यसकै आधारमा २०५५ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरिक्षकमा नियुक्त भएको पाइएको अख्तियारले दाबी गरेको थियो।
खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।






