
नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य बढाउन झण्डै ३० लाख चल्ला जिउँदै गाडेको छ । केही दिन अघि चितवनको सडकमा ब्यवसायीले अण्डा फालेर विरोध गरेका थिए । मुल्य समायोजन गर्ने नाममा झन्डै ३० लाख चल्ला जिउँदै गाडे पछि अहिले बजारमा मासुको मुल्य बढेको छ। संघले यही साता चितवनलगायत ठाउँमा चल्ला जिउँदै गाडेको हो । केही दिन अघि अण्डा पनि नष्ट गरिएको थियो । ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताएका छन् । पछिल्लो समय मासुको मूल्य घटेकाले आफुहरुलाई आर्थिक भार परेको भन्दै मासुको मुल्य बढाएर समायोजन गर्न जिउँदै चल्ला गाडिएको ब्यवसायीको दावी छ ।
संघका उपाध्यक्ष लक्ष्मीभक्त मानन्धरले अहिले डेढ सय रुपैयाँ प्रतिकिलो कुखुराको मासु बेच्दा किसानलाई मर्का परेको दावी गरेका छन् । लगानी नै नउठ्ने अवस्था आएपछि ब्यवसायीको हितलाई ध्यानमा राखेर यो कदम चालिएको दाबी गरेका छन् । उपाभोक्ता हितविपरीत चल्ला मार्न लगाइएको भन्दै पोल्ट्री किसानले भने बिरोध गरेका छन्। उनीहरुले मुल्य बढाउने यस्तो तरिका ठिक नभएको बताएका छन् । अहिले सातामा ३० लाख चल्लाको माग भएकोमा ४५ लाख उत्पादन हुने गरेको छ ।
यसहिसाबले एक साताको चल्ला नष्ट गर्दा मासु उत्पादनको सन्तुलन मिलेर मूल्य पाइने ब्यवसायीको दावी छ , पुस २ गतेसम्म संघले १५ करोड रूपैयाँ बराबरका ३० लाख चल्ला र ४५ करोड मूल्य बराबरका अण्डा नष्ट गरेका छ। काठमाडौं, धनगढी, बुटवल, चितवन, पोखरालगायतका ठाउँका चल्ला तथा अन्डा नष्ट गरिएको थियो । तर यसरी जिउँदै चल्ला गाड्नु र ब्यवसायीक हितका नाममा माग, आपूर्ति र मूल्यमा असर पार्ने काम गैरकानुनी मानिन्छ । यस्तो गर्नेलार्य तीन वर्षसम्म कैद हुने व्यवस्था संहितामा गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चल्ला मारिएको कुरा नै साँचो नभएको बताका छन् ।