
भरतपुरमा निर्माण गरिएको क्रुजसीपको परीक्षण गरिएको छ । भ्रमण वर्ष २०२० को सुवातसँगै क्रुजसीपलाई संचालन गर्ने तयारीअनुसार नदीमा टेष्ट ड्राइभ गरिएको हो। नारायणी नदीमा आइतबार ‘क्रुजसीप’ संचालन गरेर परीक्षण गरेपछि निर्माणकर्ता खुसी छन्। निर्माणस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो। चालक दलका केही सदस्यसहित सञ्चालकले करिब डेढ किलोमिटर यात्रा गरेका थिए।
मिनी क्रुजसीपको टेष्ट ड्राइभ सफल भएको संचालकले जनाएका छन् । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले परीक्षण सफल भएको बताए । नेपालको पहिलो पानी जहाजको रुपमा यसको चर्चा हुने गरेको छ । ‘दुई वर्षको अथक प्रयासको प्रतिफलस्वरुप नेपालको इतिहासमा एउटा महत्वपूर्ण योजनाले लगभग मूर्तरुप लिएको छ, ‘कंडेलले भने, ‘ नेपालमै पहिलो पटक संचालन गर्न लागिएको हुँदा के होला भन्ने थियो।’
भरतपुर महानगरपालिका १६ स्थित काभ्रेघाटमा दुई सय २० जना यात्रुवाहक क्षमता भएको क्रुजसीप बनेको छ । दसैंअघि नै संचालन गर्ने भनिए पनि डिजाइन फेरिएपछि समय लागेको हो । क्रुजमा भीआइपी कक्षा, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट पनि थप गरिएको छ ।
अन्नपुर्ण पोस्टबाट साभार